काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूले गरेका असल अभ्यासहरूको विवरण पेस गर्न शिक्षा विकास तथा समन्वय एकाइहरूलाई आग्रह गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाले यही वैशाख २४ गते जारी गरेको पत्रमा विद्यालयका असल अभ्यासहरूको संकलन, प्रकाशन, प्रवोधीकरण र प्रोत्साहन कार्यक्रम कार्यान्वयनका लागि विवरण माग गरिएको उल्लेख छ।
केन्द्रले यसअघि २०८२ माघ १६ गते सूचना प्रकाशन गरे पनि हालसम्म केही विद्यालयबाट मात्र विवरण प्राप्त भएकाले पुनः विवरण पठाउन अनुरोध गरेको जनाएको छ।
पत्रमा विद्यालयहरूले गरेका असल अभ्यासहरूको विवरण अनुसन्धान तथा गुणस्तर सुधार शाखाको इमेल [email protected] मा जेठ ५ गतेभित्र पठाउन भनिएको छ।
विद्यालयले पठाउनुपर्ने विवरणमा विद्यालयको नाम, IEMIS कोड, सम्बद्ध कक्षा, प्रदेश, जिल्ला, स्थानीय तह, वडा नम्बर तथा प्रधानाध्यापकको सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ।
केन्द्रले शैक्षिक सुधार, बाल विकास केन्द्र व्यवस्थापन (ईसीडी), भौतिक पूर्वाधार सुधार, सूचना प्रविधिको प्रयोग, सह तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थी नतिजा सुधार, अभिलेख व्यवस्थापन, अभिभावक अन्तरक्रिया, सामाजिक परीक्षणलगायत क्षेत्रमा भएका असल अभ्यासहरूको विवरण माग गरेको छ।
निर्देशक कुमार भट्टराई द्वारा हस्ताक्षरित पत्रमा स्थानीय तहलाई समेत आफ्ना क्षेत्रभित्र रहेका सफल विद्यालयहरूको विवरण संकलन गरी पठाउन सहजीकरण गर्न अनुरोध गरिएको छ।




