काठमाडौँ- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद भवनको निरिक्षण गरेका छन्।
शुक्रबार सभामुख अर्यालले संघीय संसद भवनमा सुरुवात गर्न लागिएको सांकेतिक भाषा सेवा, ई–हाजिरी प्रणालीलगायतका व्यवस्थाको निरिक्षण गरेका हुन्।
समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गर्न लागेका नयाँ सेवाहरुले संसदको कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको सभामुखको सचिवालयले जनाएको छ।
त्यस्तै सभामुख अर्यालले नयाँ संसद भवनमा निर्माण भइरहेको प्रतिनिधिसभा बैठक कक्षको समेत निरिक्षण गरेका थिए।
नयाँ संसद् भवन निर्माणमा संलग्न कम्पनीले आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसभा कक्ष तयार गरी उपलब्ध गराउने प्रतिद्धबता जनाएको संसद सचिवालयले जनाएको छ।
निरिक्षणका क्रममा उपसभामुख रुबी कुमारी तथा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेको समेत उपस्थिति रहेको थियो।



