कमेडीमा जमेका बाबुछोरी

किरण पौडेल २६ वैशाख २०८३ १०:१८ | Saturday, May 9, 2026
14
SHARES
कमेडीमा जमेका बाबुछोरी

काठमाडौँ- नेपाली कमेडी क्षेत्रमा एकै परिवारका दुई पुस्ता संघर्ष गरिरहेका छन्। फिल्मी क्षेत्रमा पारिवारिक पुस्ता भेटिए पनि कमेडी क्षेत्रमा यस्तो विरलै पाइन्छ। स्टेन्डअप कमेडीमा त बाबुछोरी सँगै सहभागी भएको उदाहरण पाउन मुस्किल छ।

कमेडी गर्न सजिलो कहाँ छ र? कमेडी हँसाउने र हास्ने क्षेत्र हो। जोकोहीले हँसाउने तागत राख्दैन। केही वर्षयता दुई पुस्ता जमेर लागेको छ कमेडीमा। ती हुन्, सन्तोष खनाल र छोरी सुयशा खनाल।

यी बाबुछोरी कहिले छुट्टाछुट्टै त कहिले सँगै स्टेजमा जमेका छन्। दाम मात्र होइन, दुवैले नाम पनि कमाएका छन्। हुन त सुयशा एकल प्रस्तुति दिन पनि सक्छिन्। उनको सुन्दर अभिनय प्रशंसायोग्य छ।

सन्तोष लामो समयदेखि यही क्षेत्रमा छन्। छोरी सुयशालाई कमेडीमा पुर्‍याउने नै सन्तोष हुन्। अचम्म के छ भने दुवै जना योजनाबद्ध रूपमा कमेडीमा लागेका भने होइनन्।

सन्तोष जसोजसो कमेडीमा लागे। सन्तोषका संघर्षका दिन कठिन थिए। सन्तोष रेडियो र टीभी कार्यक्रमका कमेडीमा जमेका हुन्। उनले धेरै नाटकमा पनि अभिनय गरे। त्यहीँबाट उनको कमेडियन जीवन सुरु भयो। सुयशा भने सन्तोषकै शैली हुबहु गर्दै गइन्। केही सहज रहे सुयशाका सिकाइका दिन।  उनीहरू कमेडीमा जन्मिए, उदाहरणीय बने।

सन्तोषको संघर्ष

नवलपरासीमा जन्मिएका सन्तोष स्कुल स्तरबाटै नाटकमा अभिनय गर्थे। वर्षमा एकदुईवटा भए पनि उनले कार्यक्रममा अवसर पाउँथे। विद्यालयका उनको अभिनय राम्रै थियो। आफू कमेडीमा ‘फिट’ छु भन्ने थाहा पाउन उनलाई स्कुल नै काफी बन्यो। सन्तोषले स्कुल कहिले नवलपरासी त कहिले काठमाडौँमा पढे। तर अभिनय र पढाइ जारी राखे। उनलाई याद भएसम्म तुलसीमेहर स्कुलमा कक्षा ६ मा पढ्दा पहिलो नाटक खेलेका थिए। त्यहीँबाट उनको कलाकारिताको शुभारम्भ भयो। त्यसपछि बर्सेनि स्कुलमा देखाइने नाटकमा सन्तोष छुटेनन्।

स्कुलले दसैँताका नाटक मञ्चन गराँथ्यो। सन्तोष पनि अभिनयमा देखिन्थे। सन्तोषको वास्तविक सांगीतिक क्षेत्रमा प्रवेश भने उच्च शिक्षा पढ्न काठमाडौँ आएपछि भयो। काठमाडौँमा नाट्य समूहले कलाकार खुलाउने गरेका थिए। पत्रिकामा आएका विज्ञापनका आधारमा आवेदन दिनुपर्ने हुन्थ्यो। दुःख के थियो भने एकपटक आवेदन दिएपछि अधिकांश नाट्य समूह अलप हुन्थे।

‘हामी आवेदन दिन्थ्यौँ। त्यसपछि अडिसनमा जाँदा तिनीहरू हराइसकेका हुन्थे,’ सन्तोष सम्झन्छन्।

एकपटक होइन, पटकपटक निवेदन दिए, तर समस्या त्यही थियो। तर उनले हार मानेनन्। उनलाई अभिनयको भोक थियो भने आश नाट्य समूहमाथि थियो। उनी खुलेका सबै ठाउँमा आवेदन भर्ने गर्थे। भाग्यको कुरा, एउटा डिल्लीबजारस्थित कुसुम नाट्य समूहले उनलाई हौसला दियो। त्यही माध्यमबाट उनी नाट्य क्षेत्रमा पुगे।

सिरियलमा इच्छा

सन्तोष अभिनयमा लागेपछि पछाडि फर्कन चाहेनन्। त्यतिबेला चर्चित थियो, सन्तोष पन्तको ‘हिजो-आजको कुरा’। तर अभिनय गर्न कहाँ सजिलो थियो र! मिहिनेती र कला क्षेत्रमा जमेको व्यक्ति मात्र प्राथमिकतामा पर्थे।

‘भरसक दाइहरूले धेरै पटक देखिएपछि मात्र डेब्यु दिनुहुन्थ्यो। छेउमा गएर बसिरहेपछि मात्र प्राथमिकतामा परिन्थ्यो,’ सन्तोष भन्छन्।

उनले ‘हिजोआजको कुरा’मा एउटा भागमा फागु खेल्ने युवकको रोल उनले पाए। ‘सहरी घरानाका केटाहरूले केटीलाई लोला हान्ने रोल पाइयो,’ सन्तोष सम्झन्छन्। त्यसपछि भने अवसर निरन्तर आए। नाट्य समूहले सामाजिक कथामा नाटक बनाउँथ्यो।

त्यही नाटक लिएर देशभर जानुपर्ने हुन्थ्यो। कलाकारिताको भोकले सन्तोषलाई देशभर पुर्यायो। उनले नाटकमै सपना बुने अनि जीवन देखे। टेलिसिरियल पनि फाट्टफुट्ट अभिनय गरिरहेकै थिए। ०५९ सालपछि भने उनले कलाकारितामा धेरै अवसर पाए। ‘लगन जुरला जस्तो छ’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ जस्ता चर्चित सिरियलमा उनी देखिए। कतिपयमा त उनी निर्देशकीय भूमिकामा पनि हुन्थे। कतिपयमा त उनको ‘स्क्रिप्ट’ पनि बोल्यो।

रेडियोले समातिदियो ‘क्यारेक्टर’, कलाकारिताले आकाश छोयो

२०६४ पछि काठमाडौँमा खुल्यो, रेडियो अडियो। एक किसिमले रेडियो अडियो स्थापित गर्नमा पनि उनको योगदान छ। उनीहरूले नै थालनी गरेकै कारण रेडियो अडियो चर्चित भयो। त्यतिबेला मनोरञ्जनात्मक कार्यक्रम बहुतै चलेका थिए। कसैले नेता बन्ने त कसैले चुट्किला भनेर मनोरञ्जन लिने क्रम थियो। तर सन्तोषलाई भने भिन्नै गर्नुपर्छ भन्ने लाग्यो।

उनले राजनीतिभन्दा पृथक किसिमको अभिनयका रूपमा ‘फिल्मी किरो’ कार्यक्रम चलाउन थाले। जुन कार्यक्रमले उनलाई चिनायो। बुढो मान्छेको लवज र भेषमा अन्तर्वार्ता लिने काम हुन्थ्यो त्यसबेला। त्यही कार्यक्रमलाई ‘फिल्मी किरो’ भन्ने नाम दिइयो। रेडियोले उनलाई क्यारेक्टर दियो अनि पारिश्रमिक पनि। उनले कलाकार चिन्ने मौका पाए। रेडियोमा उनको सातामै २५ वटा कार्यक्रम हुन्थे।

‘रेडियो मेरो लागि प्रिय थियो। म सबै काम रेडियोमै बसेर गर्थेँ,’ सन्तोष सम्झन्छन्।

रेडियोमा उनी अनेक लवजका कार्यक्रम गर्थे। कलाकारसँगको सम्पर्क पनि रेडियोले बढायो।

‘रेडियोले नै मलाई धेरै क्यारेक्टर दियो। पृथक पहिचान बनाउन सहयोग गर्‍यो।’

कलाकारितामा अघि बढ्दै गर्दा अन्य ठाउँबाट पनि अफर आउन थाले। रेडियोसँगै उनी टीभीमा पनि जोडिन थाले। पहिले तराई टेलिभिजन, त्यसपछि हिमालयन टेलिभिजन। हिमालयन टेलिभिजनमा भने उनको ‘फिल्मी किरो’ कार्यक्रम झन् हिट भयो। सन्तोषको कलाकारिताको गति बढिरहेको थियो। रेडियो, टीभी, नाटक र टिभी सिरियलले उनलाई भ्याइनभ्याइ बनायो। अब त उनलाई सिरियलहरूको स्क्रिप्ट लेख्ने जिम्मेवारी पनि आउन थाल्यो।

‘२०७४ सालमा जिरे खुर्सानीको स्क्रिप्ट लेखेँ। त्यसपछि गोलमाल सिरियलका २५ भाग पनि लेखेँ,’ उनी भन्छन्।

समय जति अघि बढ्यो, सन्तोषले आफूलाई सान्दर्भिक बनाउँदै लगे। ‘फिल्मी किरो’बाट उदाए पनि ‘गोलमाल’सम्म पुग्दा उनको अभियान ‘फुर्केबुढो’सम्म पुग्यो। अब जमाना टीभी मात्र नभई युट्युबसम्म पुगेको थियो। उनी आफैँ कलाकारिताका अलराउन्डर थिए। कलाकारितामा लेख्ने खुबी र अभिनय गर्ने कला भिन्नभिन्न व्यक्तिमा हुनुपर्छ भन्ने मान्यता राखिन्थ्यो। तर सन्तोष दुवै गर्थे। उनी रेडियो-टीभीका अनुभवी भएकाले ‘लाइभ’ हँसाउने शैली पनि थियो।

सन्तोषले जे गरे, सुयशाले त्यही सिकिन्

सन्तोष प्रायः घरमै काम गर्थे। सुयशा सन्तोषले गरेकै कुरा हुबहु गर्थिन्। चार वर्षकै उमेरमा उनमा कलाकारिताको भोक देखिन्थ्यो। यति मात्र होइन, सुयशा आफू पनि ‘क्यारेक्टर’मा देखिन अड्डी कस्थिन्।

बच्चाबाट कलाकारिता देखाउन सजिलो नहोला भन्ने लाग्थ्यो। तर सुयशाले जिद्दी गरेपछि सन्तोषले टीभीमा अवसर दिने योजना बनाए।

‘सानो बच्चा माइक देख्दा आत्तिन्छिन् कि जस्तो लागेको थियो। तर जस्तो भनेको त्यस्तै गरिन्,’ उनी भन्छन्।

त्यसबेला गजित विष्टका छोरा आसिष ८ वर्षमै फिल्म निर्देशन गरेर चर्चित थिए।

‘गजित विष्टको छोरोको कुरा चर्चामा थियो। मैले त्यही कुरामा क्यारेक्टर बनाएको थिएँ। सुयशाले राम्रो गरिन्,’ उनी भन्छन्।

सन्तोषको अपेक्षाअनुसार सुयशा कलाकारितामा देखिइन्। एक किसिमले खुसी पनि बनायो। तर उमेर सानो भएकाले निरन्तर ल्याउन चाहेनन्। यही बेला देशभर कोरोना फैलियो। लकडाउन भएपछि सबै घरभित्रै बस्नुपर्ने भयो। सन्तोषले युट्युब खोले र सुयशासँग अन्तरसंवाद गर्न थाले। बाबु-छोरी मिलेर युट्युबमा ‘क्यारेक्टर’ बनाउन थाले।

कोरोनाकालका फुर्सदिला भिडियोमा भ्युज बढ्न थाले। त्यसबेला बलिउड नायिका मनीषा कोइराला नेपाल-भारत भूभागबारे बोलेपछि विवादित बनेकी थिइन्। नेपालको भूभाग लिम्पियाधुरा फिर्ता हुनुपर्ने कुरा उठाएकी मनीषा चर्चामा थिइन्। यही विषयमा सन्तोष र सुयशाले मिलेर कमेडी बनाए। त्यसपछि सन्तोषसँगै सुयशा पनि चिनिइन्।

‘यो भिडियो यति चल्यो कि यसपछिका अरू भिडियोमा पनि भ्युजको बाढी आयो,’ सन्तोष भन्छन्।

अनि सुरु भयो ‘स्टेन्डअप कमेडी’

लकडाउनकै बेला कमेडियन राजा राजेन्द्र पोखरेलले जनता टेलिभिजन मा ‘नेपाली कमेडी सो’ सुरु गर्ने भए। लकडाउनको समयमा मेलामहोत्सव नहुँदा राजेन्द्रले स्टेन्डअप कमेडी ल्याउने जमर्को गरेका थिए। त्यसका लागि सन्तोषसँग पनि सल्लाह लिए।

राजेन्द्रसँग सुयशाले स्टेन्डअप गर्ने इच्छा राखिन्। सातामा एकपटक आउने सोही कार्यक्रमपछि सुयशाले स्टेन्डअपमा पनि हात हालिन्। सन्तोषले सुयशालाई फिट हुने स्क्रिप्ट लेखिदिन्थे। त्यही कुरा सुयशाले गर्थिन्। एक किसिमले स्क्रिप्ट पनि बाबुछोरीकै सल्लाहमा तयार हुन्थ्यो। कमेडी गर्दा सुयशामा डराउने वा बिर्सिने कहिल्यै भएन। उनले अनुभवी कलाकारले जस्तै ‘डाइलग डेलिभरी’ गर्थिन्।

अब उनी स्टेन्डअपमा पनि जम्न थालिन्। राजा राजेन्द्रको शोमा कल्पना खतिवडा, प्रभात लामा, सुवोध गौतमसहितका कलाकार युवा हुँदा सुयशा मात्र बालिका थिइन्। त्यसैले उनको नाम ‘कान्छी कमेडियन’ रह्यो।

सुयशाको कमेडी क्रम चलिरहेकै थियो। विशाल भण्डारीले ‘कमेडी च्याम्पियन’ नामक स्टेन्डअप कमेडी प्रतियोगिता ल्याए। सन्तोषलाई सुरुकै सिजनमा सुयशालाई पठाउन मन थियो। उनलाई सुयशाले राम्रो ‘परफरमेन्स’ दिन्छिन् भन्ने लागेको थियो। तर समय मिलेन। पहिलो सिजनमा सुयशा कक्षा २ मा मात्र पढ्थिन्। स्कुलको पनि भार रहेकाले सन्तोषले सुयशालाई पठाएनन्।

दोस्रो सिजनमा झन् धेरै पढाइको तनाव बढ्यो। तर तेस्रो सिजनमा भने सन्तोषले सुयशालाई पठाइछाडे। सुरुमा डिजिटल प्रतियोगिता थियो। घरबाटै भिडियो बनाएर पठाएकोमा सुयशा पास भइन्। अब भने ‘फिजिकल’ प्रतियोगिता थियो। च्याम्पियनमा लामो समयदेखि कमेडी गरेका र कमेडीलाई व्यावसायिकता बनाएकासम्म थिए। तर सुयशा निरन्तर लागिन्। सन्तोष-सुयशा मिलेर स्क्रिप्ट लेख्थे, सुयशा त्यही ‘परफरमेन्स’ दिन्थिन्।

‘बाबाले लेख्दा मलाई सोध्नुहुन्थ्यो। म पनि घरायसी घटनाहरू मिलाउन भन्थेँ। अनि सम्झन सजिलो हुन्थ्यो,’ सुयशा भन्छिन्।

डर मानिनन्, हार खाइनन्

प्रतियोगितामा नेपालभित्र मात्र होइन, बाहिरका प्रतियोगीसमेत सहभागी थिए। तर कम उमेरकी सुयशा अलग देखिइन्। उमेर सानो भएर के भयो र! उनको ‘परफरमेन्स’ बबाल बन्यो।

‘टप ३० बाट एकैपटक टप १६ मा पुग्न सफल भएँ। त्यसमा मत माग्नुपर्थ्यो। तर जर्जहरूको सहयोगले म एकैपटक माथि पुगेँ,’ सुयशा सम्झिन्छिन्।

त्यसपछि पनि कमेडी कमजोर हुनेलाई ‘वाइल्ड कार्ड’मार्फत मत माग्नुपर्थ्यो। तर सुयशाले कहिल्यै त्यो अवस्था भोग्नुपरेन। परफरमेन्सले जर्जको मात्र होइन, दर्शकको पनि मन जित्यो। उनले कहिल्यै कम मत ल्याउनुपरेन।

त्यसबेला सुयशालाई परीक्षा पनि प¥यो। दिउँसो परीक्षा लेखेर बेलुका बुवासँग स्क्रिप्टमा खट्नुपर्थ्यो। तर उनले तनाव लिइनन्।

च्याम्पियनमा सातापिच्छे फरक-फरक विषयमा कमेडी गर्नुपर्थ्यो। ती सबैमा अब्बल सावित भए मात्र माथिल्लो तहमा पुगिन्थ्यो। तर उनले सबै परफरमेन्स अब्बल दिइन्। त्यसो त, च्याम्पियनका जर्जमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए।

सन्तोष पन्त तिनै व्यक्ति थिए, जसले सुयशाका बुवालाई पनि टेलिसिरियलमा ‘ब्रेक’ दिएका थिए। तर पन्तले नै सुयशाको कमेडीमा धेरै मनोरञ्जन लिन्थे। त्यसपछि त सुयशालाई के चाहियो र! नेपाली कमेडी क्षेत्रमा पन्त पुराना कलाकार हुन्।

यसै गर्दै सुयशाका प्रतियोगिताका दिन अघि बढे। अरू सबै कलाकार च्याम्पियनकै होटलमा बस्थे, सुयशा आफ्नै घरमा। उनी सानी र अध्ययनमा पनि लाग्नुपर्ने भएकाले सन्तोषले उनलाई घरबाटै पठाउने प्रावधान मिलाएका थिए। यसो गर्दागर्दै सुयशा टप ३ मा पुगिन्। च्याम्पियनको नियमअनुसार टप ३ बाट एकैचोटि विजेता चुनिनुपर्थ्यो। सुयशाले पनि संघर्ष गरिन्। तर उनी विजेता बन्न सकिनन्। तर पनि उनलाई पछुतो छैन।

‘टप ३ हुनु नै च्याम्पियन हुनु हो भन्ने लाग्छ,’ उनी भन्छिन्।

त्यसो त, सुयशालाई सन्तोषले च्याम्पियनको सपना देखाएकै थिएनन्। जहाँसम्म पुगिन्छ, त्यसैमा खुसी हुन सिकाएका थिए। पहिलो कुरा त, फिजिकल अडिसनमै नपुगेको भए पनि उनीहरू खुसी नै हुन्थे। किनकि, सुयशा कमेडी गर्थिन् भन्ने सबैलाई थाहा थियो। प्रतियोगितामा नछानिँदा पनि उनका कमेडीको यात्रा रोकिने थिएन। तर च्याम्पियनले उनलाई चिनायो। फिजिकलमा मात्र होइन, टप ३ सम्म पु¥यायो।

कमेडीमै मन

कमेडी च्याम्पियनपछि सुयशाको बजार बढेको छ। यत्रतत्रबाट कमेडीका लागि माग आइरहन्छ। भर्खर ९ कक्षामा पुगेकाले खासै धेरै कार्यक्रम भने गरेकी छैनन्। आफ्नै युट्युब च्यानलमार्फत बुवासँग कमेडी बनाउने काम भने रोकिएको छैन।

उनले कमेडी बुझेकी छन्। तर यही क्षेत्रमा रहने-नरहने टुंगो छैन। उनी पढाइलाई नै प्राथमिकता दिन चाहन्छिन्। त्यसबाट बचेको समय कमेडीकै हो। सन्तोषले पनि सुयशालाई यही क्षेत्र रोज भन्नुभएको छैन। सानै उमेर भएकाले भन्ने समय पनि आएको छैन। अहिले पनि उनीहरू कार्यक्रम गरिरहेकै छन्। केही ठाउँमा बाबुछोरी नै देखिन्छन्।

यसअघि ‘कमेडी नाइट विथ च्याम्पियन’मा बाबुछोरी नै देखिएका थिए। सुयशा रेनु दाहाल बन्दा सन्तोष प्रचण्ड बनेका थिए। त्यो कार्यक्रमबाट उनीहरूले ताली र गाली दुवै पाए। सुयशालाई गालीसँग खासै मतलब रहँदैन। उनी खासै हेर्दिनन् पनि। गाली आए पनि प्रभाव परेको रहेछ भन्ने लाग्छ। सन्तोष पनि ताली-गाली दुवैलाई स्वागत गर्नुपर्ने बताउँछन्।

अहिले सन्तोष आफ्नै प्रोडक्सनका कार्यक्रममा लागेका छन्। कहिलेकाहीँ कमेडी कार्यक्रममा जाने त छँदैछ। पहिलेजस्तो रेडियो-टीभीमा कार्यक्रम भने अहिले छैनन्। समयसँगै उनी फेरिएका छन्। युट्युबमार्फत नै आफ्ना सामग्री दर्शकलाई पस्किरहेका छन्।

प्रकाशित: २६ वैशाख २०८३ १०:१८ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast