सांकेतिक तस्बिर।
काठमाडौँ- दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–ही संलग्न ‘ड्युच मोटर्स’ सेयरबजार चलखेल र अन्य भ्रष्टाचारको मुद्दामा पुनरावेदन सुनुवाइ गरिरहेका एक न्यायाधीश मृत फेला परेका छन् ।
योनहाप समाचार एजेन्सीका अनुसार सोल उच्च अदालतका न्यायाधीश शिन जोङ–ओ बुधबार बिहान सोलस्थित अदालत भवननजिकै मृत फेला परेका हुन् । मध्यरातमा प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजी गर्दा स्थानीय समयअनुसार करिब १ बजे उनी मृत भेटिएका थिए ।
प्रहरीले उनको मृत्युको वास्तविक कारणबारे अनुसन्धान सुरु गरेको छ । उक्त मुद्दा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीसँग सम्बन्धित छ । गत सोमबार मात्रै विशेष अभियोजक टोलीले किमलाई सेयरबजार चलखेल र भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
यसअघि अप्रिल २८ मा सोल उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै किमको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पुर्याउने निर्णय गरेको थियो ।
अदालतले जेल सजायका साथै पाँच करोड वन जरिबाना समेत तोकेको थियो । यद्यपि, विशेष अभियोजक टोलीले भने किमलाई १५ वर्षको जेल सजाय हुनुपर्ने माग गर्दै आएको थियो । न्यायाधीश शिन यसै संवेदनशील मुद्दाको सुनुवाइ प्रक्रियामा संलग्न थिए ।



