काठमाडौँ- संसार यति बेला कोभिड महामारीभन्दा पनि गम्भीर खाद्य संकटतर्फ बढिरहेको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले यस्तो चेतावनी दिएको हो।
रोमस्थित मुख्यालयबाट हालै जारी विज्ञप्तिमा उल्लेख छ, ‘होर्मुज जलमार्गमा जारी गतिरोध समयमै नियन्त्रणमा आएन र त्यससँगै एल निनो जस्ता जलवायु प्रभाव पनि थपिए भने ‘परफेक्ट स्टर्म’ जस्तो अवस्था सिर्जना हुन सक्छ, जुन महामारीपछिको अवस्थाभन्दा पनि बढी गम्भीर हुनेछ।’
एफएओका अनुसार विश्वका २० देखि ४५ प्रतिशतसम्मका महत्त्वपूर्ण कृषि सामग्री होर्मुज जलमार्ग हुँदै ओसारपसार हुन्छ। वर्तमान गतिरोध चाँडै अन्त्य भएन भने यसले विश्वव्यापी खाद्य आपूर्ति र मूल्यमा गम्भीर असर पार्न सक्ने चेतावनी एफओले जनाएको छ।
संस्थाले विश्वभरका किसान पहिल्यै न्यून नाफामा खेती गरिरहेका छन्। उनीहरू घाटामा गएर खेती छोड्न वा दिवालिया हुन बाध्य भए भने दीर्घकालीन रूपमा विश्व खाद्य आपूर्ति झनै कमजोर हुन सक्छ।
एफएओका अनुसार मार्चमा खाद्य मूल्य सूचकांक तुलनात्मक रूपमा स्थिर थियो, किनभने अन्नलगायत धेरै खाद्य वस्तुहरूको आपूर्ति पर्याप्त थियो। अप्रिलमा समस्या बढ्न थालेको छ र मे महिनामा उच्च पुगेको छ। किसानहरूले कति र कुन बाली लगाउने भन्ने निर्णय मलको उपलब्धतामा निर्भर गर्छ।
तेलको मूल्य बढेमा केही किसानले खाद्य बालीको सट्टा जैव इन्धन (बायोफ्युल) उत्पादन गर्ने बाली लगाउन सक्छन्, जसले खाद्य आपूर्तिमा कमी ल्याउन सक्छ।
विज्ञप्तिमा एफओएका अधिकारी लाबोर्डेको भनाइ उद्धृत गर्दै उल्लेख छ, ‘विश्व अहिले संकटबाट गुज्रिरहेको छ र समयमै कदम नचालिए यो अवस्था ठूलो विपत्तिमा बदलिन सक्छ।’
प्रतिवेदनमा किसानहरूले पर्याप्त मल र अन्य स्रोत पाएनन् भने यस वर्ष र सन् २०२७ मा उत्पादन घट्ने उल्लेख छ। त्यसले खाद्य मूल्य बढाउने जोखिम छ। यस्तो अवस्था लामो समयसम्म कायम रहन सक्ने अनुमान एफएओको छ।
एफओएले देशहरूलाई बायोफ्युलसम्बन्धी अनिवार्य नीतिहरू पुनर्विचार गर्न र ऊर्जा तथा मल निर्यातमा प्रतिबन्ध लगाउनबाट जोगिन आग्रह गरेको छ।
संस्थाले जोखिममा परेका देशहरूलाई तत्काल वित्तीय सहायता दिनुपर्ने सुझाव पनि दिएको छ। यसका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ब्यालेन्स अफ पेमेन्ट सुविधा र फुड सक विन्डो प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
एफएओका मुख्य अर्थशास्त्री म्याक्सिमो टोरेरोले मल र ऊर्जा बजार अत्यन्त संवेदनशील हुने भएकाले आपूर्तिमा सानो कमीले पनि मूल्यमा ठूलो उछाल ल्याउन सक्छ। ढुवानी व्यवस्था छिट्टै पुनःस्थापित नभए बजार तीव्र रूपमा प्रभावित हुने उनको भनाइ छ।



