काठमाडौँ- नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन माग गरेको छ।
सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरुलाई सच्चाउनुपर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
असल नियतले सुशसान र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरुलाई समर्थन गर्ने तर संविधानको भावविपरित जारी गरिएका प्रावधानहरुको विरुद्धमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताइन्।
साथै बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यासमाथि निर्मम प्रहार गरेको निष्कर्ष निकालेको उनले बताइन्।
बैठकले वास्तविक सुकुम्बासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनस्र्थापनाका लागि सदनमा प्रभावकारी आवाज उठाउने निर्णय समेत गरेको छ।



