काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले विभिन्न तहका शिक्षक पदका लागि तय गरिएको अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ।
आयोगको सूचना अनुसार निम्नमाध्यमिक तह द्वितीय श्रेणी तथा प्राथमिक तह प्रथम र द्वितीय श्रेणीका शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सफल भएका उम्मेदवारहरूको अन्तर्वार्ता कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो।
यसअघि वैशाख २७ गतेदेखि सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयहरूमा अन्तर्वार्ता सञ्चालन गर्ने तय गरिएको थियो। गण्डकी प्रदेशका उम्मेदवारका हकमा भने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन हुने भनिएको थियो।
आयोगले स्थगनको कारणबारे विस्तृत जानकारी नदिई अर्को सूचना जारी भएपछि मात्र कार्यक्रम अघि बढाइने जनाएको छ।
उक्त सूचना शिक्षक सेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाबाट जारी गरिएको हो।



