काठमाडौँ- शिक्षक सेवा आयोगले शैक्षिक वर्ष २०८३/८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
नयाँ सरकार गठनपछि आयोगमा नयाँ पदाधिकारी नियुक्त भएसँगै रोकिएको भर्ना तथा परीक्षा प्रक्रिया फेरि अघि बढाउने गरी कार्यतालिका ल्याइएको हो।
आयोगले असोज १ गते स्वीकृत गरेको कार्यतालिकाअनुसार माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका खुला प्रतियोगितात्मक परीक्षा, बढुवा, अध्यापन अनुमतिपत्र तथा करार सूची प्रकाशनका कार्यक्रम वर्षभरिका लागि तय गरेको छ।
गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आयोगको नियमित कार्यतालिका प्रभावित भएको थियो। त्यसलगत्तै भएको निर्वाचन, नयाँ सरकार गठन र आयोगमा नयाँ नेतृत्व नियुक्त भएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।
आयोगले सार्वजनिक गरेको तालिकाअनुसार माध्यमिक तह तृतीय श्रेणी खुलाको विज्ञापन फागुनमा, परीक्षा वैशाख र असारमा तथा नतिजा वैशाखमा प्रकाशन हुनेछ।
निम्न माध्यमिक तह तृतीय श्रेणी खुलाको विज्ञापन चैतमा, परीक्षा जेठ र असारमा तथा नतिजा जेठमा आउनेछ।
माध्यमिक र निम्न माध्यमिक तहका अध्यापन अनुमतिपत्र परीक्षाको प्रक्रिया पनि क्रमशः कात्तिक र मंसिरदेखि सञ्चालन हुनेछ।
करार सूची प्रकाशन खुला प्रतियोगितात्मक परीक्षाको सिफारिस भएको एक महिनाभित्र गरिने उल्लेख गरिएको छ।
दोस्रो र प्रथम श्रेणी बढुवाको सिफारिस तथा अन्तिम नतिजा आगामी असोजसम्म टुंग्याउने लक्ष्य राखिएको छ।
कार्यतालिकामा माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको नतिजा प्रकाशित भएको एक महिनाभित्र अनुमतिपत्र वितरण गरिने उल्लेख छ। निम्न माध्यमिक तहमा पनि नतिजापछि एक महिनाभित्र अनुमतिपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ।
नयाँ कार्यतालिकासँगै लामो समयदेखि प्रभावित शिक्षक भर्ना, बढुवा र अध्यापन अनुमतिपत्रसम्बन्धी प्रक्रिया पुनः नियमित हुनेछ।



