ओमानविरुद्ध ५ विकेट लिएका गुल्सन के भन्छन्?

हिमाल प्रेस २२ वैशाख २०८३ १७:२९ | Tuesday, May 5, 2026
10
SHARES
ओमानविरुद्ध ५ विकेट लिएका गुल्सन के भन्छन्?

काठमाडौँ- नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर गुल्सन झाले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजलाई सन्तोषजनक अन्त्य भएको बताएका छन्। मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानमाथि ८१ रनको प्रभावशाली जित निकाल्दै नेपालले चार खेलमध्ये तीन जित दर्ता गरेपछि उनले टोलीको समग्र प्रदर्शनप्रति खुसी व्यक्त गरे।

पत्रकार सम्मेलनमा बोल्दै गुल्सनले सुरुमा नै टोलीले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखेको बताए। ‘हाम्रो प्लान नै चारमध्ये कम्तीमा तीन खेल जित्ने थियो। चारै जित्ने प्रयास त गर्यौँ तर एउटा खेलमा अलि धेरै सोच्दा पछि पर्‍यौँ। त्यसबाहेक समग्रमा टुर्नामेन्टलाई राम्रोसँग फिनिस गर्न सक्यौँ, त्यसैले एकदमै खुसी लागेको छ,’ उनले भने।

ओमानविरुद्धको खेलमा ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका गुल्सनले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जितलाई प्राथमिकता दिए। ‘टिमका लागि सानो भए पनि योगदान गर्न पाउँदा जहिले पनि खुसी लाग्छ। मेरो भन्दा पनि टिमलाई फाइदा भयो भने त्यसैमा सन्तुष्टि हुन्छ,’ उनले भने।

केही समयअघि चोटले प्रभावित भएको प्रसंग पनि उनले खुलाए। ‘वर्ल्ड कपपछि हल्का समस्या आएको थियो। त्यसैले पीएम कपदेखि ब्रेक लिएँ। त्यसपछि रिकभरी र स्ट्रेन्थ ट्रेनिङमा काम गरेँ अनि अहिले कमब्याक गर्न सकेको छु,’ उनले भने।

टोलीमा नयाँ खेलाडीहरूको समावेशीकरणबारे बोल्दै उनले अनुभव र नयाँ ऊर्जाको सन्तुलन आवश्यक रहेको बताए। ‘नयाँ खेलाडीहरू राम्रो गरिरहेका छन्। अर्जुनले घरेलु क्रिकेटमा लगातार प्रदर्शन गरिरहेका थिए, यहाँ पनि देखाइरहेका छन्। हामी पुराना खेलाडीहरूले उनीहरूलाई ब्याक गर्नुपर्छ, प्रेसर दिनु हुँदैन। क्रिकेटमा योजना अनुसार सधैं हुँदैन, त्यस्तो बेला साथ र आत्मविश्वास दिनु महत्वपूर्ण हुन्छ,’ उनले भने।

ओमानविरुद्ध अर्जुनको इनिङ्सलाई उनले महत्वपूर्ण र सन्तुलित भन्दै प्रशंसा गरे। ‘अर्ली विकेट गुमाएको अवस्थामा उनले निकै कन्ट्रोल्ड इनिङ खेले। त्यही बेला त्यस्तो इनिङ्सको आवश्यकता थियो,’ उनले भने।

कीर्तिपुरस्थित मैदानको पिचबारे पनि गुल्सनले सकारात्मक प्रतिक्रिया दिए। ‘हामीले सधैं स्लो विकेटको अपेक्षा गर्छौं, तर यसपटक पिच एकदमै राम्रो र ब्याटिङ फ्रेन्ड्ली रह्यो। चारै खेलमा राम्रो व्यवहार गर्‍यो। यसका लागि क्युरेटर र ग्राउन्ड स्टाफलाई धन्यवाद दिनुपर्छ,’ उनले भने।

छिट्टै सुरु हुने अर्को सिरिजबारे उनले स्पष्ट योजना रहेको बताए। ‘होम ग्राउन्डका खेलहरू निकै महत्वपूर्ण छन्। प्वाइन्ट टेबल निकै टाइट छ, त्यसैले कुनै पनि खेल गुमाउनु हुँदैन। अब पनि त्यही लक्ष्य हुनेछ कम्तीमा तीन जित, सम्भव भए चारै जित,’ उनले भने।

बलिङ रणनीतिबारे उनले अनुशासनलाई मुख्य कारक माने। ‘विकेटमा खासै स्विङ वा मूभमेन्ट छैन तर डिसिप्लिन कायम राख्दा ब्याट्सम्यानले गल्ती गर्छन्। आज फास्ट बलरहरूले पनि त्यही अनुशासनमा रहेर विकेट लिएका हुन्,’ उनले भने।

उनले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित नै महत्वपूर्ण रहेको दोहोर्‍याए। ‘क्रिकेटमा आफ्नो दिन कहिले हुन्छ, कहिले हुँदैन। तर अवसर पाएपछि आफ्नो बेस्ट दिनुपर्छ। अन्ततः टिम जित्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने।

प्रकाशित: २२ वैशाख २०८३ १७:२९ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast