गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित

हिमाल प्रेस २२ वैशाख २०८३ १६:३६ | Tuesday, May 5, 2026
14
SHARES
गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएई र ओमान सहभागी त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेल जितेको छ।

मंगलबार ओमानलाई ८१ रनले पराजित गर्दै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो। यसअघि नेपालले यूएईविरुद्ध दुवै खेल जितेको थियो भने ओमानसँगको पहिलो खेलमा पराजित भएको थियो।

नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए।

नेपालका लागि गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए जुन उनको एकदिवसीय करिअरकै उत्कृष्ट प्रदर्शन हो। सन्दीप लामिछानेले ८.५ ओभरमा २ मेडनसहित ३० रन दिएर १ विकेट लिए। करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छँदै २५६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले ९७ बलमा ७ चौका र ५ छक्कासहित ९४ रन बनाउँदै शतकबाट ६ रनले चुके। अर्का ओपनर विनोद भण्डारी भने खाता खोल्न नसकी आउट भए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ८७ बलमा ४ चौकासहित ४८ रन जोडे। कप्तान रोहितकुमार पौडेलले १६ बलमा ९ रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन योगदान दिए।

आरिफ शेखले आक्रामक इनिङ्स खेल्दै २४ बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाए जसमा अन्तिम ओभरमा लगातार तीन छक्का पनि समावेश थियो। अन्य खेलाडीमध्ये गुल्सन झाले १७ रन बनाए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछाने क्रमशः ०, २ र १ रनमा आउट भए।

ओमानका नदीम खानले ३ विकेट लिए भने सकील अहमद र हसनइन शाहले २-२ विकेट लिए।

अंक तालिकामा ओमान २८ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ। सातौं स्थानमा रहेको नेपालको २४ खेलबाट १८ अंक पुगेको छ भने पुछारमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ।

नेपालले यस पटक लिग-२ सिरिजमा तीन खेल जितेको यो पहिलो पटक हो।

प्रकाशित: २२ वैशाख २०८३ १६:३६ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast