काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका छन्।
देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गरी रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन नेता कोइरालाले छलफल आयोजना गरेका हुन्।
छलफलमा सहभागीहरूले १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन्।
अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो। उनीहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताए। पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिको रहेको उनीहरूको भनाइ थियो।
बालुवाटारस्थित एक होटलमा सम्पन्न छलफलमा शशांक कोइराला, बलबहादुरक केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउदलगायतका नेताहरू सहभागी थिए।
त्यस्तै बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वसभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेशका सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।




