काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उक्त विषयको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै समितिले प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।
समितिको निर्णयमा भनिएको छ, ‘मिति २०८३/०१/०४ गतेको सम्मानित सर्वोच्च अदालतको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरिएको हो।’
यसअघि समितिले खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधेको थियो। तर अदालतको फैसलापछि सो विषय कानुनी र राजनीतिक रूपमा अगाडि बढाउनु आवश्यक नरहेको ठहर गरिएको हो।
यसैबीच, समितिले अन्य अनुशासनसम्बन्धी मुद्दामा भने कारबाही प्रक्रिया अघि बढाएको छ। रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पार्टी सभापति पदबाट निलम्बन गर्ने निर्णय गरिएको छ। उनले दिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएको र थप अनुसन्धान आवश्यक रहेको भन्दै यो निर्णय गरिएको समितिले जनाएको छ।
समितिको भनाइ छ, ‘अनुसन्धान प्रभावित हुन सक्ने भएकाले निर्णय नहुँदासम्मका लागि सभापति पदमा रहन नपाउने गरी निलम्बन गरिएको हो।’
त्यसैगरी, गत प्रतिनिधिसभा निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेको आरोप लागेका विभिन्न नेता तथा उम्मेदवारहरूलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ।





