सगरमाथा आरोहणका लागि खुल्यो बाटो

हिमाल प्रेस १५ वैशाख २०८३ १८:१३ | Tuesday, April 28, 2026
10
SHARES
सगरमाथा आरोहणका लागि खुल्यो बाटो

काठमाडौँ- विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि.) को सन् २०२६ को आरोहणका लागि अन्ततः बाटो खुलेको छ। खुम्बु आइसफलको जोखिमपूर्ण ठाउँमा बाटो खोल्ने पथप्रदर्शक (आइसफल डाक्टर) हरूले डोरी र भर्‍याङहरू व्यवस्थापन गरेपछि आरोहणको बाटो खुलेको हो।

यसअघि क्याम्प १ मुनिको खुम्बु आइसफल क्षेत्रमा करिब ३० मिटर अग्लो हिउँको ढिस्को खसेर बाटो अवरुद्ध हुँदा यो वर्षको आरोहण अनिश्चित बनेको थियो। अप्रिल २३ मा बीबीसीले उल्लेख गरेअनुसार आइसफल डाक्टरहरूले उक्त अवरोध छिचोल्ने वैकल्पिक बाटो फेला पार्न सकेका थिएनन्। र, हिउँको ढिस्को पग्लिने प्रतीक्षा गर्नुको विकल्प थिएन।

तर अहिले ठूला आरोहण सञ्चालक कम्पनीहरू मध्येको एक सेभेन समिट ट्रेक्सले  खुम्बु आइसफलको बाटो आधिकारिक रूपमा खुलेको मंगलबार सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ। मंगलबार बाटो बनाउने टोली क्याम्प १ सम्म पुग्न सफल भएपछि अब सिँढी, डोरी र एंकरहरूको प्रयोग गरी पूर्ण रूपमा बाटो बनाइएको छ। यो महत्त्वपूर्ण खण्ड खुलेसँगै आधार शिविरमा रहेका सयौँ आरोहीहरूले क्याम्प १ तर्फको यात्रा सुरु गर्न सक्नेछन्।

सगरमाथा प्रदूषण नियन्त्रण समितिद्वारा खटाइने आइसफल डाक्टरहरूले आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो बनाउने जिम्मेवारी पाउँछन् भने त्यहाँबाट शिखरसम्मको बाटो नेपाल पर्वतारोहण सञ्चालक संघको टोलीले तयार पार्छ।

बाटो खुल्न ढिलाइ हुँदा आरोहीहरूको तालिका प्रभावित भएको थियो। किनकि उनीहरूले उच्च उचाइका लागि शरीरलाई तयार पार्न आधार शिविर, क्याम्प १ र क्याम्प २ बीच पटक-पटक आउजाउ गर्नुपर्ने हुन्छ।

पर्यटन विभागको तथ्यांकअनुसार यस सिजनका लागि ४२ वटा आरोहण समूहका ९८ महिलासहित कुल ४२५ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन्। यसै गरी ल्होत्सेका लागि १११ र नुप्त्सेका लागि ४२ जनाले अनुमति पाएका छन्। ल्होत्से र नुप्त्से आरोहण गर्नेहरूले पनि खुम्बु आइसफलकै मार्ग प्रयोग गर्नुपर्ने हुन्छ।

प्रकाशित: १५ वैशाख २०८३ १८:१३ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast