काठमाडौँ- डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ आगामी साउन १ गते (जुलाई १७)बाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो।
‘गौँथली’ नामबाट डा. भोला रिजालको कथामा झन्डै दुई दशकअघि निर्माण पनि फिल्म बनेको थियो । जसले प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो । अहिले फेरि सोही नामबाट फिल्म बनेको हो।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डा। भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन् ।
‘गौँथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा। कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ । हरि हुमागाईंले खिचेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन् । डिजिटल अधिकार ‘ओएसआर डिजिटल’सँग रहेको छ ।




