काठमाडौँ- निर्देशक कपिल रिजालको फिल्म ‘गौंथली’ नेपाली बक्स अफिसमा नयाँ कीर्तिमान कायम गर्दै अहिलेसम्मकै सातौं सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
शुक्रबार मध्यान्हसम्म फिल्मले देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
यससँगै ‘गौंथली’ ले छक्कापञ्जा १, छक्कापञ्जा २, छक्कापञ्जा ५, कोहिनुर, महाजात्रा र आबाट आमा जस्ता सफल फिल्महरूको कमाइलाई पछि पारेको छ।
हाल ‘गौंथली’ भन्दा बढी कमाइ गर्ने नेपाली फिल्महरूको सूचीमा जारी, छक्कापञ्जा ४, परान, १२ गाउँ, कबड्डी ४ र पूर्णबहादुरको सारंगी मात्र रहेका छन्।
फिल्मको वर्तमान कमाइको गति कायम रहे आगामी साताभित्र ‘जारी’को बक्स अफिस रेकर्ड पनि उछिन्ने अनुमान गरिएको छ।
प्रदर्शनमा ठूला प्रतिस्पर्धी फिल्म नरहेको र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएकाले ‘गौंथली’को व्यापार अझै केही समय सशक्त रहने अपेक्षा गरिएको छ।
फिल्मका निर्माता सुमन गिरी भान्जाले ‘गौंथली’ को व्यावसायिक सफलताले आफूहरू मात्र नभई समग्र नेपाली चलचित्र उद्योगलाई पनि सकारात्मक ऊर्जा दिएको प्रतिक्रिया दिएका छन्।


