सांसद विश्वराज पोखरेलद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहारको शिक्षक संगठनको आपत्ति

हिमाल प्रेस १३ वैशाख २०८३ १०:२१ | Sunday, April 26, 2026
64
SHARES
सांसद विश्वराज पोखरेलद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहारको शिक्षक संगठनको आपत्ति

काठमाडौँ- ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वराज पोखरेलद्वारा एक विद्यालयका प्रधानाध्यापकमाथि गरिएको अपमानजनक व्यवहारप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संगठनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गते खिजिदेम्बा गाउँपालिका-२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरमाथि सांसद पोखरेलले दम्भ र धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ।

विद्यालय जस्तो शान्त र पवित्र शैक्षिक संस्थाभित्र जनप्रतिनिधिबाट गरिने यस्तो व्यवहारले सम्बन्धित व्यक्तिको मात्र नभई सम्पूर्ण शिक्षक समुदायको पेसागत मर्यादा र आत्मसम्मानमाथि गम्भीर चोट पुर्‍याउने संगठनका महासचिव प्रकाश खनाल र अध्यक्ष हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

संगठनले विद्यालयलाई ज्ञान, अनुशासन र शान्तिको केन्द्रका रूपमा व्याख्या गर्दै यस्ता गतिविधिले शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने र शिक्षकहरूको मनोबल कमजोर बनाउने चेतावनी दिएको छ।

यसले विद्यालयलाई ‘शान्ति क्षेत्र’का रूपमा स्थापित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामाथि समेत प्रश्न उठाएको जनाएको छ।

देशको कानुन निर्माण गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिबाट यस्तो व्यवहार हुनु अस्वीकार्य, निन्दनीय र खेदजनक भएको संगठनको ठहर छ।

संगठनले सांसद पोखरेललाई आफ्नो व्यवहारप्रति आत्मसमिक्षा गर्न, सार्वजनिक रूपमा क्षमा माग्न र भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन आग्रह गरेको छ।

प्रकाशित: १३ वैशाख २०८३ १०:२१ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast