काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत छैटौं शृंखलाको पहिलो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दैछ। सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको आधार मानिएको यो प्रतियोगिता नेपाल र यूएई दुवैका लागि निकै चुनौतीपूर्ण बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजे सुरु हुने यस खेलमा दुवै टोली तालिकाको पुछारबाट माथि उठ्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। हालसम्म २० खेल खेलेको नेपाल १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ भने यूएई १० अंकसहित पुछारमा रहेको छ।
नेपालका लागि यो शृंखला विश्वकप छनोटका लागि मात्र नभई आफ्नो एकदिवसीय वरियता जोगाउन पनि उत्तिकै महत्त्वपूर्ण छ। लिग २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने प्रावधान छ भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।
यस शृंखलामा नेपाल र यूएईसँगै ओमान पनि सहभागी छ। ओमान २४ खेलबाट २९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा मजबुत अवस्थामा छ। ओमानले अघिल्लो पटक काठमाडौं आउँदा नेपाल र अमेरिकालाई ‘क्लिन स्विप’ गरेको थियो।




