पोखरामा पनि सुकुम्बासी बस्ती हटाउने अभियान

हिमाल प्रेस ११ वैशाख २०८३ १५:५४ | Friday, April 24, 2026
2
SHARE
पोखरामा पनि सुकुम्बासी बस्ती हटाउने अभियान

पोखरा- काठमाडौँमा सुकुम्बासी बस्ती हटाउने अभियान सुरुसँगै कास्कीमा पनि यस खालको अभ्यास सुरु भएको छ। जसका कारण लामो समयदेखि बिनालालपुर्जा सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित ढंगले बस्दैआएका यहाँका सुकुम्बासीसमेत त्रसित बनेका छन्।

पोखरा महानगरपालिकाले ३५ दिनको अल्टिमेटम दिएर महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक ऐलानी÷पर्ति जग्गा बिनाअनुमति हडपेर बसेकाहरुलाई खाली गर्न–गराउन सार्वजनिक सूचना जारी गरेको छ।

महानगरले गत ३ वैशाखको नगर कार्यपालिकाको निर्णय भएको जनाउँदै शुक्रबार उक्त सूचना सार्वजनिक गरेको हो।

सूचनामा उल्लेख छ, ‘महानगरका क्षेत्रभित्र विभिन्न स्थानहरुमा सार्वजनिक ऐलानी/पर्ति जग्गा बिनाअनुमति अतिक्रमण गरी पहुँचका आधारमा लामो समयदेखि विभिन्न व्यक्तिहरु/संस्थाहरुबाट संरचनाहरु निर्माण गरी कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने गरेको, पर्खाल लगाई जग्गा भित्राउने जस्ता कार्य भए गरेको भन्ने जनगुनासो प्राप्त हुन आएकोले सरोकारवाला व्यक्ति, संस्था सबैबाट सार्वजनिक जग्गा संरक्षणमा ऐक्यबद्धता जनाई हालसम्म निर्माण भएका संरचनाहरु सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्रै आफैँ खाली गर्न–गराउन–हटाउन २०८३ वैशाख ३ को नगर कार्यपालिकाको निर्णयानुसार यो सूचना जारी गरिएको छ।’

तोकिएको ३५ दिनभित्र सम्बन्धित पक्षले आफैँ संरचना नहटाएमा महानगरले कानुनी प्रक्रिया बमोजिम अघि बढ्ने संकेत गरेको छ। महानगरपालिकाले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि सबै नगरवासीलाई सहयोग गर्नसमेत आग्रह गरेको छ।

यसअघि पनि पोखरामा सार्वजनिक जग्गा र खोलाकिनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको थियो।

प्रकाशित: ११ वैशाख २०८३ १५:५४ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast