सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच बिहीबार उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहका बीच नगर प्रमुख ढकाल र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा गौतमले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार कुल दुई करोड दुई लाख दुई हजार दुई सय दुई राशि रहेको अक्षयकोष स्थापना भएको छ, जसले स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ। यसबाट विशेष गरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नगर प्रमुख ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व वहन गर्नुपर्छ भन्ने हेतुले आफ्नो नगर क्षेत्रभित्र अवस्थित विश्वविद्यालय र प्रदेश राजधानीको नगरपालिका हुनुका नाताले पनि सबै क्षेत्रलाई समेटेर लैजानुपर्ने अभिभारा आफूहरूसँग भएको बताए।
उपकुलपति गौतमले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव र अभ्यासमा आधारित प्रस्तुति गर्दै आफ्नो नेतृत्वकालमा विश्वविद्यालयलाई समुदायसँग जोड्न र विश्वविद्यालयको स्थायी कोष (एन्डोमेन्ट फन्ड) निर्माणका लागि कार्यविधि पास गर्न पहल गरेको बताए। उनले स्थानीय सरकार र विश्वविद्यालयबीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।




