इरानसँग फेरि वार्ता गर्ने ट्रम्पको संकेत

हिमाल प्रेस ६ वैशाख २०८३ २१:३१ | Sunday, April 19, 2026
18
SHARES
इरानसँग फेरि वार्ता गर्ने ट्रम्पको संकेत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरू इरानसँग वार्ताका लागि पाकिस्तान जाने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेरा प्रतिनिधिहरू इस्लामावाद जाँदैछन्। उनीहरू भोलि साँझ त्यहाँ वार्ताका लागि पुग्नेछन्।’

आफूहरूले सम्झौताका लागि उचित र न्यायोचित प्रस्ताव राखिरहेको जिकिर गरेका छन्।

‘हामी निकै उपयुक्त र न्यायोचित सम्झौतको प्रस्ताव राखिरहेका छौँ। यदि उनीहरूले स्वीकारेनन् भने अमेरिकाले इरानका सबै पावर प्लान्ट र पुलहरू ध्वस्त पार्नेछ,’ उनले भनेका छन्।

टर्कीका विदेशमन्त्री हाकान फिदानले इरान र अमेरिका दुवै युद्ध अन्त्य गर्न वार्ताका लागि तयार रहेको बताएको बीबीसीले जनाएको छ। तर, इरानको तर्फबाट प्रतिनिधि वार्ताका लागि पाकिस्तान जानेबारे औपचारिक पुष्टि भएको छैन।

अमेरिका र इरानबीच यसअघि पनि इस्लामाबादमा वार्ता भए पनि असफल रहेको थियो। ट्रम्पले अब वार्ता असफल भए ‘कुनै लचकता नअपनाइने’ बताएका छन्।

उनले इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा गोली चलाएर युद्धविराम उल्लंघन गरेको आरोपसमेत लगाएका छन्। ट्रम्पका अनुसार इरानले फ्रान्स र बेलायतका जहाजलाई लक्षित गरी गोली चलाएको थियो।

ट्रम्पले होर्मुज बन्द गर्ने इरानको निर्णयलाई आश्चर्यजनक बताउँदै यसले इरानलाई नै आर्थिक नोक्सानी भइरहेको दाबी गरेका छन्।

इरानले भने अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी कदमलाई गैरकानुनी र आपराधिक बताएका छन्। संयुक्त राष्ट्र संघका प्रावधानहरू उल्लेख गर्दै उनले कुनै देशको बन्दरगाह वा तटमा नाकाबन्दी लगाउनु अन्तर्राष्ट्रिय कानुनविपरित भएको जिकिर गरेका छन्।

यता सम्भावित वार्तालाई मध्यनजर गरी इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सहरका मुख्य सडकहरू बन्द गर्ने, भारी सवारीसाधनको प्रवेश रोक्ने तथा सार्वजनिक यातायातमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।

प्रकाशित: ६ वैशाख २०८३ २१:३१ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast