काठमाडौँ- संघीय संसदका दुईवटा बाहेकका अन्य विषयगत समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ। संसदीय समितिका १२ मध्ये १० वटा समितिका सभापतिमा एकल उम्मेदवारी दर्ता भएको हो।
संसद सचिवालयले समितिको सभापतिमा मनोनयन दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकेको थियो।
एकल उम्मेदवारी दर्ता भएका समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुने पक्का भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक÷एक समिति सभापतिमा उम्मेदवारी दर्ता गराएको छ।
नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिएको छ। यो पदमा अन्य कुनै पनि दलको उम्मेदवारी परेको छैन।
नेकपा एमालेले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा गुरुप्रसाद बराललाई उम्मेदवार बनाएको छ। यो पदमा रास्वपाका डा.ओजस्वी शेरचनको उम्मेदवारी परेको छ।
त्यस्तै संघीय संसदको संयुक्त समिति अर्थात राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा नेकपाले मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाएको छ।
यो समिति सभापतिमा रास्वपाका गणेश कार्कीको उम्मेदवारी परेको छ। सबै समितिमा रास्वपाको एकल बहुमत भएकाले अन्य दलका उम्मेदवार सभापतिमा निर्वाचित हुने सम्भावना छैन।
शुक्रबार बस्ने समिति बैठकले निर्वाचित भएको घोषणा गर्ने जनाइएको छ।
प्रतिनिधिसभामा सत्तारुढ दल रास्वपाका १८२ सांसद छन्। रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभाका ९ र संयुक्त २ समितिमा पार्टीका सांसदलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यस्तै रास्वपाले सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो। विपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई समर्थन गरेको छ।
रास्वपाबाट उम्मेदवारहरू
समीक्षा बास्कोटा : कानुन न्याय तथा मानवअधिकार
कषि सहकारी तथा प्राकृतिक श्रोत : अशोक चौधरी
पूर्वाधार विकास : आशिष गजुरेल
महिला तथा सामाजिक मामिला : आकृति अवस्थी
राज्य व्यवस्था तथा सुशासन : हरि ढकाल
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि : डा. ओजस्वी शेरचन
संसदीय सुनुवाई : वोधनारायण श्रेष्ठ (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन : गणेश कार्की (संयुक्त)
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन : सुम्नीमा उदास
अर्थ : कृष्णहरि बुढाथोकी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित : रहवर अन्सारी
नेपाली कांग्रेस
सार्वजनिक लेखा : भरत खड्का
नेकपा एमाले
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि : गुरुप्रसाद बराल
नेकपा
राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति : मदनकुमारी शाह (गरिमा)



