बिहारका निवर्तमान मुख्यमन्त्री नीतिश कुमार।
काठमाडौँ – नितिश कुमारको राजीनामापछि भारतको बिहार राज्यको राजनीतिमा करिब दुई दशक लामो ‘नितिश युग’ औपचारिक रूपमा समाप्त भएको छ। मंगलबार पटनास्थित राजभवन पुगेर उनले गभर्नर सइद अता हुसैनसमक्ष राजीनामा बुझाएका हुन्।
स्वास्थ्य अवस्था र बदलिँदो राजनीतिक भूमिकालाई ध्यानमा राख्दै उनले यो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। हालै राज्यसभा सदस्यमा निर्वाचित भएका नितिश अब प्रदेश राजनीतिबाट टाढिँदै केन्द्रतर्फ सक्रिय हुने संकेत दिएका छन्।
राजीनामाअघि उनले अन्तिम मन्त्रिपरिषद् बैठक आयोजना गरी सरकार भंग गर्ने निर्णय गरेका थिए र सहकर्मीहरूप्रति आभार व्यक्त गरेका थिए। उनको बहिर्गमनपछि बिहारको सत्ता समीकरणमा महत्त्वपूर्ण परिवर्तन आएको छ। अब पहिलोपटक भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना भएको छ।
यसक्रममा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ किनभने विधानसभा भित्र उक्त दल सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित छ। सन् २००५ यता (बीचमा छोटो अन्तरालबाहेक) निरन्तर नेतृत्व सम्हाल्दै आएका नितिश कुमार ‘सुशासन बाबु’ का रूपमा परिचित छन्।
उनको कार्यकालमा छात्राहरूका लागि निःशुल्क साइकल योजना, पञ्चायत तहमा ५० प्रतिशत आरक्षण, ग्रामीण सडक र विद्युत विस्तार, मदिरा निषेधजस्ता साहसिक निर्णय तथा शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा सुधारका कार्यक्रम उल्लेखनीय उपलब्धि छन्।
राजीनामापछि सामाजिक सञ्जालमार्फत उनले बिहारको सेवा गर्न पाएको अवसरलाई गौरवका रूपमा उल्लेख गरेका छन्। विकासको आधार अझै बलियो हुँदै जाने उनको विश्वास छ। साथै नरेन्द्र मोदीलगायत सम्पूर्ण सहयोगी र जनताप्रति उनले आभार प्रकट गरेका छन्।
अब नयाँ नेतृत्वको शपथग्रहण वैशाख ३ गते हुने सम्भावना छ, जहाँ केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहने बताइएको छ।




