तस्बिर स्रोत : वैदिक अनुसन्धान गुठी (वाग्)
काठमाडौँ- वाल्मीकि रामायणको प्रामाणिक अनुवाद नेपाली भाषामा प्रकाशित भएको छ। वैदिक अनुसन्धान गुठी (वाग्) द्वारा प्रकाशित यस ग्रन्थको सम्पादन डा. स्वामी केशवानन्द गिरिले गरेका हुन्। ग्रन्थमा संस्कृतका मूल श्लोकहरूसँगै सरल नेपाली अनुवाद र व्याख्या समेटिएको छ।
वाल्मीकिकृत् रामायणलाई संसारकै पहिलो महाकाव्य मानिन्छ। यसलाई नेपालीमा अनुवाद कार्य सम्पन्न गर्न दसभन्दा बढी विद्वान्ले करिब दुई वर्ष समय लगाएका छन्। गद्य रूपमा प्रस्तुत गरिएको यस ग्रन्थमा अस्पष्ट अंशहरूलाई प्रस्ट पार्न व्याख्यात्मक टिप्पणीहरू समावेश गरिएको छ। साथै श्लोकहरू सहज रूपमा खोज्न सकियोस् भनेर श्लोकानुक्रमणिका राखिएको छ।
ग्रन्थ दुई खण्डमा प्रकाशित भएको छ। गीताप्रेसको संस्करणभन्दा पनि प्रामाणिक पाठ प्रयोग गरिएकाले यसलाई आधिकारिक कृतिका रूपमा लिइएको छ। हालको भौगोलिक दृष्टिले नेपालमै जन्मिएर यहीँ सिद्धि प्राप्त गरेका वाल्मीकिद्वारा रचित रामायणको नेपालीमा अनुवाद गरिएको यो पहिलोपटक हो। संसारकै पहिलो महाकाव्यका रचयिता नेपालीकै पुर्खा हुन्।
हालसम्म वाल्मीकि रामायण प्रामाणिक व्याख्यासहित नेपालीमा अनुवाद भएको थिएन। आदिकवि भानुभक्तले अनुवाद गरेको कृति भने अध्यात्म रामायण हो।
रामकथा नेपाली जनजीवनमा गहिरोसँग गाँसिएको छ। रामायण रामको चरित्र चिनाउने काव्यका रूपमा प्रसिद्ध छ। सनातनीहरू रामलाई भगवान्को अवतारका रूपमा लिन्छन्। रामलाई आदर्श तथा मर्यादापुरुषोत्तम पात्रका रूपमा चिनिन्छ। त्यसैले यो ग्रन्थ नेपाली पाठकका लागि पठनीय मानिन्छ।
धार्मिक, आध्यात्मिक र ऐतिहासिक महत्त्व बोकेको यो प्रामाणिक तथा प्राचीन कृति आकर्षक गाताबन्दी, झोलासहित र उपयुक्त आकारमा छापिएको छ। ग्रन्थको मूल्य दुई खण्डको गरी चार हजार एक सय रुपैयाँ राखिएको छ।




