विराटनगर- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको बिहीबार निरीक्षणका क्रममा उनले दैनिक रूपमा ट्राफिक जाँचलाई प्रभावकारी बनाई तीव्रगति, ओभरलोड र मादक पदार्थ, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिएका हुन्।
उनले नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्न राडर गन, सिसीटिभी, मापसेलापसे जाँच कीटजस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न आग्रह गरे।
सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिँदै उनले लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य भए नभएको, भाडादर सही भए नभएको, आरक्षण सिटको व्यवस्था र टाइमकार्ड लागू भएअनुसार सवारीसाधन सञ्चालनमा रहे नरहेको कडाइका साथ जाँच गर्नुपर्नेमा जोड दिए।
‘चेकिङ’का क्रममा कसैलाई दुःख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित रुपमा प्रस्तुत हुन प्रहरीलाई आग्रह गरे।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनलगायतका बारेमा अवगत गराएका थिए।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृत, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीको उपस्थिति थियो।


