काठमाडौँ- नेपाली कांग्रेसले वैशाख पहिलो साता संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्नेे भएको छ। संसदको पहिलो अधिवेशन अन्त्य भइसकेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयन गर्न लागेको हो।
दलको नेता चयन गर्न गठित निर्वाचन समितिका सदस्य मुना भुसालले वैशाखको पहिलो साता दलको नेता चयन हुने जानकारी दिइन्। वैशाख २ गते प्रक्रिया सुरू गरेर पहिलो साताभित्र दलको नेता चयन गर्ने तयारी रहेको उनले बताइन्।
‘सकभर सर्वसम्मतकै लागि प्रयास गर्ने हो। प्रक्रिया सुरू गरेर सर्वसम्मतका लागि प्रयास गर्छौँ,’ मुसालले हिमालप्रेससँग भनिन्, ‘सर्वसम्मत हुन नसके पहिलो साताभित्र निर्वाचनबाटै दलको नेता चयन गर्छौँ।’
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी भुसालले दलको नेता चयन गर्न अहिलेसम्म निर्वाचनको मिति नतोकिएको जानकारी दिइन्।
‘वैशाख २ गतेबाट प्रक्रिया सुरू गर्ने कुरा भएको छ,’ उनले भनिन्,‘फलानो मितिमै दलको नेता चयन गर्न निर्वाचन हुन्छ भनेर किटान भएको छैन, भोलि समितिको बैठक बसेर छलफल हुँदैछ। अब ढिलो हुँदैन, वैशाख पहिलो सातासम्म कांग्रेसले दलको नेता पाउँछ।’
दलको नेता चयन गर्ने सम्बन्धमा कांग्रेसले अहिलेसम्म आफ्ना सांसदहरूसँग छलफल नगरेको बताइएको छ। यसअघि बसेका प्रतिनिधिसभा बैठकका क्रममा पनि दलभित्र दलको नेता चयन गर्ने विषमा औपचारिक छलफल नभएको सांसद निनुकुमारी कर्णले बताइन्।
उनले दलको नेता चयन गर्ने विषयमा भइरहेका तयारीका सम्बन्धमा आफूहरूलाई आधिकारिक जानकारी नगराइएको जिकिर गरिन्। कर्णले भनिन्,‘पहिलो अधिवेशनको अन्तिम बैठक सकिएपछि वैशाख ४ गते दलको नेता चयन गर्न निर्वाचन हुने भनेर गाइँगुइँ सुनिएको थियो। तर, हामीलाई औपचारिक जानकारी गराइएको छैन।’
फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसले हालसम्म प्रक्रियासमेत सुरू गरेको छैन।
आकांक्षी बढी भएका कारण दलको नेता चयन गर्न सकस भएको नेताहरूले बताएका छन्। संसदीय दलको नेताका लागि भिष्म आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, निश्कल राई, भरतबहादुर खड्कालगायतका नेताहरू आकांक्षी देखिएका छन्।
प्रतिनिधिसभामा १८ जना प्रत्यक्ष र समानुपातिक २० जना गरी कांग्रेसका ३८ सांसद छन्। जसमध्ये सभापति गगन थापा समूहका १६,देउवा समूहका १५ र शेखर कोइराला समूहका ७ जना सांसद छन्। पछिल्लो समय कांग्रेसभित्र देउवा र शेखर समूह नजिक देखिएका छन्। यो दुवै समूहका सांसदहरू एकढिक्का रहेको अवस्थामा आफूनिकटलाई दलको नेता बनाउन संस्थाप समूहलाई सकस पर्ने देखिएको छ।
२०६४ पछि कांग्रेसको इतिहासमा सर्वसम्मतिबाट दलको नेता चयन भएका छैनन्। २०७९ सालको निर्वाचनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले तत्कालीन महामन्त्री गगन थापालाई संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा पराजित गरेका थिए।




