नेपाल भारत प्राध्यापक सम्मेलनको सन्देश : ज्ञान, संस्कृति र कूटनीतिमा जोड

हिमाल प्रेस २८ चैत २०८२ २१:४३ | Saturday, April 11, 2026
30
SHARES
नेपाल भारत प्राध्यापक सम्मेलनको सन्देश : ज्ञान, संस्कृति र कूटनीतिमा जोड नइ एकेडेमLद्वारा शनिबार काठमाडौँमा आयोजना गरेको नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको शङ्खघण्ट ध्वनिका साथ उ‌द्घाटन गर्दै समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईलगायतका सहभागी प्राध्यापकहरू। तस्बिर : रासस

काठमाडौँ– नेपाल र भारतका प्राध्यापकहरूले प्राज्ञिक व्यक्तित्वहरूको सम्मेलन ज्ञान, अनुसन्धान, संस्कृति र कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम रहेको औँल्याएका छन्। नइ एकेडेमीको आयोजनामा काठमाडौँमा जारी नेपाल भारत प्राध्यापक सम्मेलन उद्घाटन समारोहमा प्रवचन दिँदै प्राध्यापकहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

बनारस हिन्दु विश्वविद्यालयअन्तर्गतको दक्षिण एसियाली भाषा विभाग प्रमुख प्रा.डा. दिवाकर प्रधानले भने, ‘नेपाल भारत प्राध्यापक सम्मेलन शैक्षिक कार्यक्रम मात्र नभई ज्ञान, अनुसन्धान, संस्कृति र कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने माध्यम हो।’

उनले दुई देशको साझा सभ्यता, धर्म, दर्शन र संस्कृतिबारे गहिरो अध्ययन तथा संंवादका माध्यमबाट परस्पर बोधन अझ प्रगाढ हुने बताए।

यसैगरी उनले दुई देशबीचको शैक्षिक तथा बौद्धिक आदानप्रदानले नेपाली भाषा शिक्षालाई अरू देशतिर पनि प्रोन्नत गराउनमा विमर्श गर्न सकिने बताए। आजको विश्वमा सार्वभौमिकता राजनीतिक सीमाले मात्रै सुरक्षित नरहने बताउँदै उनले अबको सार्वभौमिकता सांस्कृतिक आत्मविश्वास, बौद्धिक स्वतन्त्रता र भाषिक सशक्ततामा आधारित हुने बताए।

प्राध्यापक प्रधानले नेपाल भूमिमा प्रवेश गर्दा हिमालको देशमा मात्रै नभएर दर्शन, तपस्या र बौद्धिक अन्वेषणको उद्गमभूमिमा प्रवेश गरेको अनुभव हुने बताए।

उनले भने, ‘व्यासदेखि बुद्धसम्म, गार्गीदेखि भृकुटीसम्म, बालकृष्ण समदेखि आधुनिक शिक्षाविद्हरूसम्म यी सबै व्यक्तित्वहरू हाम्रो बौद्धिक यात्राका दीपस्तम्भ हुन्। उनीहरूको चेतनाले हामीलाई शिक्षा ज्ञानआर्जन मात्रै नभएर आत्मबोध, नैतिकता र राष्ट्रिय अस्मिताको संरक्षणको माध्यम रहेको स्मरण गराउँछ।’

त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त प्रा.डा. दयाराम श्रेष्ठले नेपाल र भारतका भिन्नभिन्न राष्ट्रियता भएर पनि हाम्रो एउटै लक्ष्य, संकल्प, प्रतिज्ञा र उद्देश्यहरू रहेको बताए। उनले भने, ‘हामी हिँड्ने राजमार्ग एउटै छ, त्यो हो नेपाली भाषासाहित्यको पठनपाठनबाट ज्ञान प्रवाह गर्नु, गरिरहनु।’

श्रेष्ठले तेरो मेरोको संकीर्ण सीमा तोडेर एउटा साझा भाषिक साहित्यिक सभ्यता र संस्कृतिको भव्य महल खडा गर्नुपर्ने बताए। उनले भने, ‘आज हामी एउटै साझा चौतारीमा भाषासाहित्यको शाश्वत समूह गीत गाइरहेका छौँ, त्यो हामी सबैको अन्तर्हृदयको आवाज हो, हाम्रो ज्ञानको उज्यालो दीप हो। हाम्रो आराध्यदेव एउटै छ, ती हुन् नेपाली वाङ्मयता।’

भारतको सिक्किम विश्वविद्यालयकी पूर्वडिन एवम् नेपाली विषयकी प्राध्यापक डा. कविता लामाले सम्मेलनले दुई देशबीचको शैक्षिक कूटनीतिलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘ज्ञानको सीमा हुँदैन र जब ज्ञानको साझेदारी हुन्छ, तब दुवै पक्ष लाभान्वित हुन्छन्। जसरी आज हामी यस सम्मेलनमा सहभागी भएर लाभान्वित भएका छौँ।’

यसैगरी उनले नेपाल भारतबीचको सम्बन्ध भाषा, संस्कृति, भावना र ज्ञानको साझेदारीमा आधारित रहेको बताइन्। ‘आजको यो सम्मेलन त्यस साझेदारीलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदम हो’, उनले भनिन्।

सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थीले नेपाल तथा भारतका विश्वविद्यालयहरूले र प्रकारान्तर रूपमा मानवीय जनशक्तिस्वरूप ती विश्वविद्यालयमा कार्यरत रहिआएका प्राध्यापकहरूले आफ्ना शैक्षिक प्राज्ञिक कार्यक्रम र कार्यकलापद्वारा नेपाली भाषासाहित्यको उत्थान, विकास र विस्तारमा पुर्‍याएको विशिष्ट योगदानलाई प्रकाशमा ल्याउनु सम्मेलनको उद्देश्य रहेको बताए।

प्राध्यापक शिवगोपाल रिसालले सम्मेलनमार्फत नेपाल र नेपालीको मिलनविन्दुले चमत्कार नै गरेको बताए। उनले भने, ‘राजनीतिक दृष्टिले हामी भिन्नजस्ता देखिएका छौँ। तापनि हामीमा धार्मिक, सांस्कृतिक, भाषिक, साहित्यिक, आत्मिक, नैतिक र धार्मिक एकता छ।’

उनले सम्मेलनले अध्यात्मविद्यालाई नेपाली साहित्यमा प्रत्यक्ष र परोक्ष रूपमा समावेश गराएर पठनपाठन, अध्ययन र अध्यापनमा नयाँ दृष्टिकोण ल्याउने कामना गरेका थिए। शारीरिक अस्वस्थताका कारण सम्मेलनमा सहभागी हुन नसकेका रिसालको सम्बोधन समारोहमा वाचन गरिएको थियो।

सम्मेलनको उद्घाटन महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ गरेका थिए।

‘नइ एकेडेमीले इतिहास रच्यो’

सम्मेलनमा सहभागीहरूले यस्तो विशिष्ट खालको सम्मेलन आयोजना गरेर नइ एकेडेमीले इतिहास रचेको बताए। उनीहरूका अनुसार यस्तो सम्मेलन यसअघि नेपाल र भारतमा भएको थिएन।

सिक्किम विश्वविद्यालयकी पूर्वडिन प्रा.डा. कविता लामाले भनिन्, ‘न त नेपालमा न त भारतमै यस स्तरको नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन यसअघि सम्पन्न भएको थियो। यस अर्थमा नइ एकेडेमीले आज एउटा नयाँ इतिहास रचेको छ।’

प्राध्यापक शिवगोपाल रिसालले नइ एकेडेमीद्वारा आयोजित नेपाल भारत प्राध्यापक सम्मेलनको आजको शुभमुहूर्तमा एउटा असाधारण, अद्वितीय र अकल्पनीय घटना भएको बताए। उनले भने, ‘हिमवत्खण्ड, पाशुपत क्षेत्र, पवित्र, पावन, तपोभूमि, शान्तभूमि नेपालको माटोमा नेपालका र मित्र देश भारतका समेत विश्वविद्यालयका नेपाली भाषासाहित्यका प्राध्यापकहरूको एकै स्थानमा मिलन भएको छ। यस्ता महान् अवसर इतिहासका कालखण्डमा विरलै पाइन्छन्।’

प्रा.डा. दयाराम श्रेठले नइको परिकल्पनाले साकार रूप लिएर आज यस पवित्र र सुन्दर आँगनीमा आफ्नो दिव्य नृत्य देखाइरहेको बताए। उनले भने, ‘त्यस नृत्यमा कुनै पराइपनको गन्धले आफ्नो दुराग्रह देखाएको छैन। कुनै विभेदर वैमनस्यलाई स्थान नदिएर नइले आयोजना गरेको यस यस सम्मेलनमा सहभागिता जनाउन पाउनु हाम्रो अहोभाग्य हो।’

प्रा.डा. दिवाकर प्रधानले एकेडेमीको सत्प्रयास स्तुत्य रहेको बताए। उनले भने, ‘यसले दुवै देशको उच्चशिक्षाको विकास र क्षेत्रीय बौद्धिक सहकार्यलाई नयाँ दिशा प्रदान गर्दछ।’

सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थीले यस्तो विशिष्ट सम्मेलन राज्य स्तरका प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालयजस्ता संस्थाले आयोजना गर्नुपर्नेमा ती संस्थाले यसतर्फ उन्मुखता नलिएकैले जनस्तरीय नइ एकेडेमीले यस्तो महत्त्वपूर्ण सम्मेलनको आयोजना गर्न अघि सरेको स्पष्ट पारे।

प्रा.डा. चूडामणि बन्धुले यस्तो सम्मेलन नेपालको कुनै विश्वविद्यालय, नेपाल सरकार वा नेपाल प्रज्ञा प्रतिष्ठानबाट धेरै समयअघि हुनुपर्नेमा यस्तो कामको अग्रसरता लिएर नइले विशेष काम गरेको भन्दै प्रशंसा गरे।

‘नेपाली भाषाको दिग्विजयमा सहभागी हुन पाउँदा गौरवको अनुभव हुन्छ’

एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले आफ्नो परिवार नै नेपाली भाषाको दिग्विजयमा सहभागी हुन पाउँदा गौरवको अनुभव भएको बताए।

उनले भने, ‘मेरी गुरुदेवी इन्दिरा प्रसाई, मेरा छोराछोरी डा. कञ्चनजंघा प्रसाई र डा. अनुकृतिका प्रसाई अनि म भएर नेपाली भाषाको दिग्विजयका लागि अहोरात्र समर्पित भएको कुरा सम्मेलनमा अवगत गराउन पाउँदा आज मलाई गौरवीबोध भएको छ।’

उनले नेपाली भाषासाहित्य उच्च शिक्षा र अनुसन्धानको विषय बन्दै गएको दशकौँ भइसके पनि यससम्बन्धी भरपर्दो अभिलेख नरहेकाले त्यसैको परिपूर्तिका लागि नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन आयोजना गरिएको जानकारी दिए।

प्रसाईले भने, ‘यस्तो इतिहास निर्माण गर्न सकेकोमा हामी धन्य भएका छौँ।’ जेजस्तो रूपमा भए पनि नेपाल र भारतका विश्वविद्यालयमा प्रारम्भिक अवस्थादेखि नेपाली भाषा साहित्यको पढाइ, लेखाइ र अनुसन्धानसँग सम्बन्धित एउटा बलियो दस्ताबेज सुरक्षित राख्न सफल भएको बताए।

उनले भने, ‘आगामी पुस्ताले यस विषयमा केही छैन भनेर टाउको दुखाउन पर्ने छैन।’ उनले सम्मेलन आयोजना गर्न नइसँग मन मात्रै नरहेको तर धन नभएको अवस्थामा कार्यक्रमको ढाँचा तयार पारिएको जानकारी दिए। सोही आधारमा २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका लागि प्रस्ताव गरिएको ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने आश्वासन दिए पनि त्यसलाई पूरा गर्न नसकेको उनको भनाइ थियो।

प्रसाईले भने, ‘राज्यले गर्नुपर्ने, प्रज्ञाप्रतिष्ठानले गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयले गर्नुपर्ने यति ठूलो काम नइले गर्दै रहेछ, राज्यका तर्फबाट बजेट उपलब्ध गराउँछौँ भनेर ओलीले आश्वासन दिए पनि नौ महिनासम्म सिंहदरबार र बालुवाटार धाउँदा धाउँदा केही पाउन सकेनौँ।’

त्यसपछि आफूहरूले यस्तो कार्यक्रमका लागि बजेट उपलब्ध गराउन भनेर कुनै प्रधानमन्त्रीलाई नभेटेको जानकारी दिँदै प्रसाईले भने, ‘किनभने उनीहरूलाई नेपाली भाषासाहित्य कुन चराको नाउँ हो भन्ने थाहा छैन नै होला भन्ने हामीलाई लाग्न थाल्यो। उनीहरूभित्र पनि नेपाली भाषासाहित्यको मोह हुन्थ्यो भने प्रधानमन्त्रीदेखि, शिक्षा मन्त्रालय र संस्कृति मन्त्रालयसम्म एकैजना नेपाली भाषाका विशेषज्ञ भेटिँदैनथे र?’

स्वतन्त्र रूपमा काम गर्न कसैको छत्रछाया नचाहिने भन्दै उनले नेपाली भाषासाहित्य सेवामा मन, वचन र कर्मले सक्रिय हुनुलाई आफूहरूले भाग्य सम्झिएको बताए।

सदस्यसचिव प्रसाईले सम्मेलन आयोजनाका लागि कुनै पनि व्यक्ति, संघसंस्था, सरकारी निकाय, विदेशी दाताबाट आर्थिक र प्राविधिक सहयोग नलिएको बताए। उनले भने, ‘हामीले एक वर्षका अन्य कार्यक्रम स्थगित गरेर यो सम्मेलन आयोजना गर्न खर्चको स्रोत जुटाएका हौँ।’

बृहत् ग्रन्थको लोकार्पण

सम्मेलनमा ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल र भारतका विश्वविद्यालयको भूमिका’ नामक ग्रन्थको लोकार्पण गरिएको थियो। कृतिको लोकार्पण महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी, डा. केशवानन्द गिरि, प्रा.डा. दिवाकर प्रधान, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. कविता लामा, प्रा. केशव सुवेदी, नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाईले संयुक्त रूपमा गरेका थिए। ग्रन्थमा २७ जना प्राध्यापकका २६ वटा कृतिरचना संकलित छन्।

समारोहमा डा. त्रिपाठीले नइबाट आफ्नै आन्तरिक साधनस्रोतमा आयोजित ऐतिहासिक तीनदिने महान् सम्मेलनमा प्रकाशित उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक मात्र नभएर सुनमा सुगन्धको योगजस्तो हुन पुगेको बताए।

रोयल साइजमा ८७२ पृष्ठमा विस्तरित भई पूर्ण बनेको सो ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ ओटा आलेख आबद्ध छन्। यस ग्रन्थमा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त समेटिएको छ।

ग्रन्थको सम्पादन नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईले गरेका हुन्। दोस्रो दिनको सम्मेलनको सभापतित्व एकेडेमीकी कुलपति इन्दिरा प्रसाईले गरेकी थिइन्। सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा. त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य प्रकट गरेका थिए।

शुक्रबार प्रारम्भ भएको सम्मेलन आइतबार समापन हुनेछ।

प्रकाशित: २८ चैत २०८२ २१:४३ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast