आबुधाबीमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

हिमाल प्रेस १६ जेठ २०८३ १४:३९ | Saturday, May 30, 2026
आबुधाबीमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौँ- आबुधाबीस्थित नेपाली दूतावासले ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ तथा ‘गणतन्त्र दिवस’ भव्य रूपमा मनाएको छ। दूतावासले यूएईस्थित दुसित थानी होटलमा विशेष समारोहका बीच दुवै कार्यक्रम मनाएको हो।

सन् १९५३ मे २९ मा सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरेको ७३ औँ वर्षगाँठको अवसरमा यो कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।

समारोहको सुरूवात परराष्ट्रमन्त्री शिशिर खनाको भिडियो सन्देशमार्फत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीचको ऐतिहासिक र प्रगाढ बन्दै गएको मित्रताको चर्चा गरे। सन् २०२७ मा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ मनाउन लागिएको उनले जानकारी दिए।

यूएई पाँच लाखभन्दा बढी नेपाली नागरिकको दोस्रो घर बनेको बताउँदै उनले नेपालीहरूको कडा परिश्रम र समर्पणले यूएईको आधुनिक भौतिक संरचना निर्माणमा ठूलो सहयोग पुगेको उल्लेख गरे।

राजदूत क्षेत्रीले ‘तेस्रो ध्रुव’ को रुपमा चिनिने हिमालय क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै जलवायु कार्यका लागि तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदयालाई आह्वान गरे।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरी दुई देशबीचको कूटनीतिक सम्बन्धलाई उचाइमा पु¥याउने यूएईका साहसी पर्वतारोहीहरू सईद अल मामारी, अरब क्षेत्रकै पहिलो पर्वतारोही दम्पतीमध्येकी नायला अल बलोशी र खदिजा तुर्कीको सफलताको कथा प्रस्तुत गरिएको थियो।

नेपालको गणतन्त्र दिवसको समेत अवसर पारेर आयोजित कार्यक्रममा यूएई सरकारका वरिष्ठ अधिकारी, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्मुख, व्यावसायिक अगुवा, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायतका उपस्थित रहेको थियो।

प्रकाशित: १६ जेठ २०८३ १४:३९ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast