अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता

हिमाल प्रेस २८ चैत २०८२ १५:४३ | Saturday, April 11, 2026
14
SHARES
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका–इरान उच्चस्तरीय वार्ता आपसी अविश्वासबीच पाकिस्तानको राजधानी इस्लामाबादमा केन्द्रित भएको छ। केही हप्तायता जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको यो पहललाई पाकिस्तानी नेतृत्वले ‘मेक वा ब्रेक’ चरणको संज्ञा दिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद आइपुगेका छन्। उनलाई पाकिस्तानका सेना प्रमुख असीम मुनीरले नुर खान एयरबेसमा स्वागत गरेका थिए, जहाँ अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पहिले नै उपस्थित थिए।

उता, इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि रातारात राजधानी नजिकै अवतरण गरेको थियो।

यद्यपि, दुवै पक्ष वार्तामा सहभागी भए पनि उनीहरूबीच विश्वासको गम्भीर अभाव देखिएको छ।

इस्लामाबाद अवतरण गरेलगत्तै कालिबाफले ‘हामीसँग राम्रो मनसाय छ, तर विश्वास छैन’ भन्दै विगतका अनुभवले अमेरिकी प्रतिबद्धतामा भरोसा गर्न कठिन भएको संकेत गरेका छन्।

अमेरिकी पक्षबाट भने भान्सले प्रस्थानअघि नै सकारात्मक संकेत दिएका थिए। उनले इरानले सद्भावका साथ वार्ता गरे अमेरिका पनि खुला रूपमा अघि बढ्न तयार रहेको बताएका थिए। तर, छलकपटको प्रयास भएमा कडा प्रतिक्रिया आउने चेतावनी पनि उनले दिए।

यसबीच, युद्धविराम स्वयं नै कमजोर अवस्थामा रहेको छ। विशेषगरी लेबनानमा इजरायलको निरन्तर आक्रमणहरूले स्थिति थप जटिल बनाएको छ। युद्धविराम लागू भएको ४८ घण्टा नबित्दै सयौँको ज्यान जाने गरी भएको बमबारीले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले यस अवस्थालाई ‘अझ कठिन चरण’ मा प्रवेश गरेको भन्दै आगामी वार्ता सहज नहुने स्पष्ट पारेका छन्। उनका अनुसार फेब्रुअरी २८ मा सुरु भएको युद्धलाई अन्त्य गर्न अहिलेको प्रयास निर्णायक मोडमा पुगेको छ।

वार्ताको एजेन्डामा मुख्य रूपमा रणनीतिक स्ट्रेट अफ होर्मुज, इरानी सम्पत्तिको अवरोध, लेबनानको अवस्था र आणविक कार्यक्रमजस्ता संवेदनशील विषयहरू रहेका छन्। अमेरिकाले होर्मुज पुनः खोल्नुपर्ने माग राखेको छ भने इरानले लेबनानलाई पनि युद्धविरामको दायरामा समेट्नुपर्ने अडान लिएको छ।

विश्वको करिब पाँचौँ भाग कच्चा तेल निर्यात हुने मार्ग स्ट्रेट अफ होर्मुज अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चाँडै खोल्ने सर्त राख्दै इरानसँगको वार्तामा ‘आणविक हतियाररहित’ सुनिश्चित गर्नु प्रमुख लक्ष्य रहेको बताएका छन्।

इस्लामाबादमा वार्तालाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था गरिएको छ। ‘रेड जोन’ क्षेत्रमा प्रहरी र अर्धसैनिक बलको ठूलो उपस्थिति देखिएको छ भने मुख्य सडकहरू नियन्त्रणमा लिइएका छन्। प्रतिनिधिमण्डल बस्ने होटलहरू पनि विशेष सुरक्षामा राखिएका छन्।

वार्ता प्रत्यक्ष हुने कि अप्रत्यक्ष भन्ने अझै स्पष्ट छैन। यसअघि ओमानको मध्यस्थतामा भएको जस्तै अप्रत्यक्ष ढाँचा अपनाइने सम्भावना पनि रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन्।

पाकिस्तानले वार्तालाई सहज बनाउन विभिन्न विषयका विज्ञहरूको टोली पनि परिचालन गरेको छ।

यस प्रक्रियालाई अन्य क्षेत्रीय शक्तिहरूले पनि नजिकबाट हेरिरहेका छन्। इजिप्ट, टर्की र चीनले मध्यस्थतामा भूमिका खेलेका छन् भने चीनलाई सम्भावित दीर्घकालीन सम्झौताको ग्यारेन्टरका रूपमा पनि हेरिएको छ। अमेरिकी पक्षले समेत चीनले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको स्वीकार गरेको छ।

तर, मैदानमा जारी हिंसाले वार्ताको सफलतामा चुनौती थपेको छ। इजरायलले लेबनानलाई हालको युद्धविरामको दायरामा नराख्ने अडान लिएको छ भने हिजबुल्लाहले इजरायली सेनामाथि ड्रोन र रकेट आक्रमण जारी राखेको दाबी गरेको छ। इजरायलका लागि अमेरिकी राजदूतले पनि हिजबुल्लाहसँग युद्धविरामबारे छलफल नगर्ने संकेत दिएका छन्।

यसबीच, तेहरानका सर्वसाधारणमा पनि वार्ताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। एक स्थानीय बासिन्दाले वार्ता सफल हुनेमा शंका व्यक्त गर्दै अमेरिकी अभिव्यक्तिलाई ‘हल्ला र अवास्तविक’ भनेका छन्।-रासस/एएफपी

प्रकाशित: २८ चैत २०८२ १५:४३ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast