पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनको सचिवालयले जारी गरेको प्रेस नोटअनुसार भट्टराई भोलि (२९ चैतमा) भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा। राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ।
भट्टराईसँगै उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ। आईटीएम युनिभर्सिटीले विगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको यस व्याख्यान शृंखलामा भारतका उच्च पदस्थ व्यक्तित्व तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वानहरूको सहभागिता रहँदै आएको छ ।
भ्रमण अवधिमा भट्टराईले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।
यसैगरी, २ वैशाखमा उनी नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीको सामाजिक विज्ञान संकायद्वारा आयोजित ‘‘Interdisciplinary Conversation’ कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । ‘Interdisciplinary Conversation’ शीर्षकमा हुने उक्त कार्यक्रममा उनले नेपालको बदलिँदो राजनीति र दक्षिण एसियाली समृद्धिको सम्भावनाबारे आफ्ना विचार राख्नेछन् ।
भट्टराई दम्पती २ वैशाखको साँझ नेपाल फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।




