बालेनको कूटनीतिक ‘मुभ’ : सबै विदेशी राजदूतलाई एकैसाथ निम्तो!

हिमाल प्रेस २४ चैत २०८२ २१:३४ | Tuesday, April 7, 2026
196
SHARES
बालेनको कूटनीतिक ‘मुभ’ : सबै विदेशी राजदूतलाई एकैसाथ निम्तो!

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यहाँ कार्यरत विदेशी राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्न लागेका छन्। पदभार सम्हालेको करिब दुई साता हुन लाग्दा पनि औपचारिक भेटघाट गर्न नपाएको गुनासो कूटनीतिक वृत्तमा उठेपछि उनले यस्तो भेटको व्यवस्था मिलाएका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बुधबार बिहान सवा ११ बजे परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईको उपस्थितिमा यो सामूहिक भेटवार्ता गर्न लागेका हुन्।

भारत, चीन, अमेरिका, बेलायत, रुस, फ्रान्स, स्विजरल्याण्ड, जापान, कतार, युएई, इजरायल, पाकिस्तान लगायत मुलुकका राजदूतहरूलाई एकैसाथ आमन्त्रण गरिएको छ। तर को को राजदूत काठमाडौँमा छन्। र, को को उपस्थित हुने भन्ने विषय परराष्ट्र मन्त्रालयले बुधबार बिहानसम्म मात्र प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन सक्ने भएको छ।

प्रधानमन्त्री बालेनले पहिलोपटक उनीहरूसँग प्रत्यक्ष संवाद गर्ने भए पनि तयारी भने हतारमा भएको भनिएको छ। विगतमा नयाँ प्रधानमन्त्री नियुक्त भएलगत्तै ‘पहिलो भेट कसले पाउने’ भन्ने होडबाजी कूटनीतिक वृत्तमा सामान्य थियो। राजदूतहरूबीच तँछाडमछाडजस्तो अवस्था सिर्जना हुन्थ्यो। यसमा उनले भारत र चीनलाई नेपालको बाध्यात्मक अवस्था बुझ्न बढी जोड दिनेछन्।

बालुवाटारसम्म सहज पहुँच बनाउने, द्विपक्षीय स्वार्थलाई प्राथमिकता दिने र अलगअलग भेटघाटको दबाब दिने परम्परा लामो समयदेखि चलिआएको थियो। यसले कूटनीतिक सन्तुलन बिगार्ने, प्रधानमन्त्रीको समय अनावश्यकरूपमा खर्च गर्ने र केही देशलाई बढी महत्त्व दिएको सन्देश दिने समस्या निम्त्याएका थिए।

प्रधानमन्त्री बालेनले यसपटक त्यस्तो परम्परागत अभ्यासलाई तोड्दै फरक सन्देश दिन खोजेका छन्। व्यक्तिगत भेटघाटको साटो सामूहिक संवाद रोज्नुले नेपालको कूटनीतिमा नयाँ मानक स्थापित गर्ने संकेत गर्दछ। कुनै चासो भए राजदूतले कूटनीतिक च्यानलमार्फतनै दिनुपर्ने धारणा उनले राख्न सक्ने अधिकारीहरूले सुनाए।

बालेनको कूटनीतिक सोच आर्थिक कूटनीति, सन्तुलित र स्वतन्त्र विदेश नीति तथा नेपाल प्रथममा केन्द्रित रहेको उनीसँग छलफल गरिरहनेले बताउँदै आएका छन्। परराष्ट्र मन्त्रालयलाई थप व्यावसायिक, संगठित, आत्मविश्वासी र बलियो बनाउन उनले जोड दिँदै आएका छन्। सामान्य विषय परराष्ट्र मन्त्री र सचिवस्तरबाट नै समाधान गर्नुपर्ने र प्रधानमन्त्रीसँगको भेट केवल उच्चस्तरीय तथा अत्यावश्यक राष्ट्रिय हितका मुद्दामा मात्र सीमित राख्ने उनको मान्यता छ।

उनले विकास पूर्वाधार, विदेशी लगानी आकर्षण, पर्यटन प्रवर्द्धन र ऊर्जा व्यापार जस्ता क्षेत्रमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने संकेत गरेका छन्। भारत र चीन जस्ता छिमेकी देशहरूसँग व्यावहारिक तथा सहयोगात्मक सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र हितलाई सर्वोपरि राख्ने सन्तुलित दृष्टिकोण उनको विशेषता हो।

विगतमा राष्ट्रियताका मुद्दामा स्पष्ट अडान लिए पनि सत्तामा आएपछि उनले सम्बन्धलाई थप परिणाममुखी र विकासकेन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन्। यो सामूहिक भेटवार्तामा प्रधानमन्त्री बालेनले सरकारको प्राथमिकता स्पष्ट पार्ने, सबै राजदूतहरूको चासो सुन्ने र नेपालको राष्ट्रिय हित अनुरूपको सन्देश दिने अपेक्षा गरिएको छ।

कुनै एक देशको विशेष प्रभावभन्दा समग्र कूटनीतिक सम्बन्धलाई समान रूपमा सम्बोधन गर्ने वातावरण निर्माण गर्नु यो भेटको मुख्य उद्देश्य रहेको अधिकारीहरू बताउँछन्। यदि यो अभ्यास निरन्तर रह्यो भने यसले कूटनीतिक पहुँचलाई पारदर्शी र व्यवस्थित बनाउने विश्वास पनि परराष्ट्र अधिकारीको छ।

प्रधानमन्त्री पदको गरिमा कायम राख्दै नेपालको कूटनीतिक अभ्यासमा नयाँ मानक स्थापित गर्ने यो पहिलो खुड्किलो रहेको पनि बताइएको छ। बालेनको यो कदमले परम्परागत बेथितिलाई चुनौती दिँदै सुशासन, संस्थागत सुधार र सन्तुलित कूटनीतिप्रति उनको प्रतिबद्धता देखाएको छ।अब हेर्न बाँकी छ- यो नयाँ शैली कति प्रभावकारी र दीर्घकालीन हुन्छ कि हुँदैन।

प्रकाशित: २४ चैत २०८२ २१:३४ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast