प्रवासी नेपालीलाई राष्ट्रपतिको आह्वान : पुँजी र सीप नेपाल ल्याऊ

हिमाल प्रेस २३ चैत २०८२ १३:०६ | Monday, April 6, 2026
32
SHARES
प्रवासी नेपालीलाई राष्ट्रपतिको आह्वान : पुँजी र सीप नेपाल ल्याऊ राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार शीतल निवासमा गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरू। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीका लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गरेका हुन्।

‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन’, उनले भने, ‘त्यसैले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ।’

नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजार हाम्रा समीप र पहुँचमा छन् भन्दै उनले यस्तो अवस्थामा नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताए।

‘यसका लागि बहुपक्षीय साझेदारी अत्यावश्यक हुन्छ। त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी साबित हुन सक्छ’, राष्ट्रपति पौडेलले भने।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उनको भनाइ थियो। ‘नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्’, उनले भने।

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैरआवासीय नेपाली संघले आफ्नोतर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए।

सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए।

प्रकाशित: २३ चैत २०८२ १३:०६ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast