स्वास्थ्य मन्त्रालय
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ। शनिबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै मन्त्रालयले सो अनुरोध गरेको हो ।
सो सम्झौताअनुसार निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ। तर केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ।
साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने समेत सम्बन्धित सरोकारवालाहरुलाई मन्त्रालयले जानकारी गराएको छ।




