काठमाडौँ- विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका चिनियाँ नागरिक ठगी गरेको रकमलाई क्रिप्टो करेन्सीमा रूपान्तरण गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले ठमेल क्षेत्रबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फिङलाई नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रवक्ता भट्टराईका अनुसार फिङको साथबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रूपैयाँ बराबरको क्रिप्टो करेन्सी बरामद भएको छ। साथै उनको साथबाट तीन थान मोबाइल फोन र ‘इन्टरनेसनल एक्सप्रेस’ लेखिएको रकम पठाउन प्रयोग गरिने विभिन्न कागजातहरू बरामद भएको उनले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार फिङले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकसँग सम्पर्क बढाउने र विभिन्न प्रलोभन देखाई विश्वासमा लिने गरेको पाइएको छ।
उनले नेपाली नागरिककै बैंक खाताहरू प्रयोग गरी ठगीको रकम संकलन गर्ने र उक्त रकमलाई अवैध रूपमा क्रिप्टो करेन्सीमा साटी कारोबार गर्ने गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिक फिङमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले यस नेटवर्कमा अन्य व्यक्तिहरूको संलग्नताबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।




