काठमाडौँ- प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार (चैत २२ गते) आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने तय गरिएको छ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गरेसँगै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो। सोही अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
उम्मेदवारी दर्ता सम्पन्न भएपछि दिउँसो २:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने संसद् सचिवालयले जनाएको छ। यदि एकभन्दा बढी उम्मेदवार भएमा चैत २२ गतेको बैठकमा मतदान प्रक्रिया अघि बढाइनेछ।
यद्यपि, प्रतिस्पर्धा हुने सम्भावना न्यून देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। पार्टीको संसदीय दलको बैठकले अर्यालको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
हालको प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्यालको विजय निश्चित छ। काठमाडौँ -९ बाट निर्वाचित अर्याल पार्टीका उपसभापति हुन्। उनी सभामुख निर्वाचित भएमा संवैधानिक व्यवस्था अनुसार पार्टी पदबाट राजीनामा दिनुपर्नेछ।




