भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

हिमाल प्रेस १९ चैत २०८२ १५:४० | Thursday, April 2, 2026
8
SHARES
भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले आफैँ सार्वजनिक गर्ने कि गोरखापत्रबाट मात्र थाहा पाउने भन्ने प्रश्न सरकारलाई गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै भने, ‘जाँचबुझ आयोगको प्रतिवेदन सरकार आफैँ सार्वजनिक गर्छ कि सरकार पनि गोरखापत्रमै पढेर थाहा पाउने हो?’

उनले सरकारलाई कानुनी प्रक्रिया र मर्यादालाई ध्यानमा राख्दै जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे। दोषी उम्किन नपाउने र निर्दोष नफस्ने कांग्रेसको पुरानो अडान आज पनि यथावत् रहेको उनले बताए।

आङ्देम्बेले संसद् भवन र सिंहदरबारमा भएको आगजनी तथा तोडफोडप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटना पुनः नदोहोऱ्याउन जोड दिए।

उनले प्रश्न गरे, ‘किन संसद् भवन खरानी बन्यो? किन सिंहदरबार जल्यो? किन यति धेरै भौतिक संरचना ध्वस्त पारिए?’

उनका अनुसार गत भदौ २३ र २४ गतेका दुवै घटनालाई समान रूपमा छानबिन गर्न आवश्यक छ। एक दिनको घटना मात्र देख्ने र अर्को दिनको बेवास्ता गर्ने प्रवृत्ति गलत भएको उनले बताए।

उनले जाँचबुझ आयोगप्रति पनि असन्तुष्टि जनाउँदै २३ गतेको घटनामा अनुसन्धान र कारबाही सिफारिस गरे पनि २४ गतेको घटनामा समय अभाव देखाउनु उचित नभएको टिप्पणी गरे।

प्रकाशित: १९ चैत २०८२ १५:४० | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast