फाइल तस्बिर
काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ राष्ट्रपतिले अमेरिकासँग युद्धविरामको माग गरेको दाबी गरेका छन्। बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा उनले यस्तो दाबी गरेका हुन्।
ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘इरानका नयाँ राष्ट्रपति पहिलेका भन्दा कम कट्टरपन्थी र बढी चलाख छन्। उनले हालै मात्र अमेरिकासँग युद्ध समाप्त गर्न माग गरेका छन्।’
स्ट्रेट अफ होर्मुज पूर्णरूपमा खोलिएपछि मात्रै यो प्रस्तावमाथि विचार गर्न सकिने उनको भनाइ छ।
‘स्ट्रेट अफ होर्मुज पूर्णरूपले खुलेर स्वतन्त्र र सुरक्षित भएपछि मात्रै यो प्रस्तावमाथि विचार हुनेछ। त्यो नभए हामी इरानलाई पूर्णरूपमा ध्वस्त पारिदिनेछौँ वा उनीहरूलाई ढुंगेयुगमा फर्कादिनेछौँ,’ ट्रम्पले भनेका छन्।
ट्रम्पको दाबीअनुसार ‘इरानका नयाँ राष्ट्रपति’ ले उनलाई युद्धविरामका लागि अनुरोध गरेका छन्। तर, युद्धविरामका लागि अनुरोध गर्ने व्यक्ति को हुन् यसबारे प्रस्ट छैन।
२८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि देशका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित धेरै वरिष्ठ नेताहरू मारिएका छन्।
८ मार्चमा अली खामेनीका छोरा मोजतबाले उनको स्थान लिएका छन्। सर्वोच्च नेतामा नियुक्त भएका उनले लिखित रूपमा वकक्तव्य जारी गरे पनि सार्वजनिक रूपमा देखिएका छैनन्।
ट्रम्प आफैँले भनेका छन् कि उनीहरूलाई थाहा छैन मोजताबा जीवित छन् वा छैनन्। इरानमा अहिलेसम्म कुनै राष्ट्रपति चुनिएको छैन।
सन् २०२४ मा निर्वाचित मसुद पेजेश्कियन युद्ध सुरू भएपछि पनि सार्वजनिक रूपमा देखिएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार उनी हालसालै मात्र सार्वजनिक रूपमा देखिएका थिए।
युद्ध अन्त्य गर्न आफूहरू वार्तामा संलग्न रहेको भन्ने ट्रम्पको दाबीलाई इरानले अस्वीकार गर्दै आएको छ। मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग केही सन्देशहरू आदान प्रदानमात्र भएको इरानको भनाइ छ।




