अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति

हिमाल प्रेस १७ चैत २०८२ ६:४२ | Tuesday, March 31, 2026
18
SHARES
अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिएका छन् ।

महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् । “महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उनले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

महावीरले दिएका अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउने र सत्यको पालानले इमानदारी र नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको कथन छ ।

लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा महावीरको विचारले दिने उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउने स्पष्ट पार्नुभएको छ । ब्रह्मचर्यले आत्मसंयम र आध्यात्मिक उन्नतिको बाटो देखाउने र यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ छ।

“महावीर जयन्ती धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक उत्सव पनि हो । यस अवसरमा हुने पूजा–अर्चना, शोभायात्रा, भक्ति सङ्गीत र सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप र भाइचाराको सन्देश फैलाउँछ । यसले हामीलाई आत्मचिन्तन गर्न, कर्म शुद्धीकरण गर्न र समाज तथा राष्ट्रको हितमा योगदान दिन प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

भगवान् महावीरले ‘बाँच र बाँच्न देऊ’ भन्ने अमूल्य सन्देश दिएको स्पष्ट पार्दै उपराष्ट्रपतिले जीवनका विभिन्न आदर्शहरुलाई सरल उदाहरणसहित प्रस्तुत गर्दै मानवलाई सत्य, सदाचार र तपस्याको मार्गमा अघि बढ्न प्रेरित गरेको पुष्ट पारेका छन् । महावीरको उपदेशले क्रोधलाई शान्तिले, असत्यलाई सत्यले र दुष्टतालाई सद्गुणले पराजित गर्न सकिन्छ भन्ने अमर शिक्षा दिने सन्देशमा उल्लेख गरेका छन् ।

महावीरले देखाएको सत्मार्गलाई आत्मसात् गर्दै सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने सङ्कल्प लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले यस जयन्तीले हरेक नेपालीलाई नैतिकता, सहिष्णुता र मानवतावादी मूल्यको मार्गदर्शन प्रदान गरोस्, पुनः शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित: १७ चैत २०८२ ६:४२ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast