काठमाडौँ- संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ जना सांसदमध्येका एक हुन् प्रकाशचन्द्र परियार। उनी रास्वपाको समानुपातिक सांसद हुन्। प्रकाशको राजनीतिक संलग्नता रास्वपाभन्दा धेरै पुरानो छ। नेपाली राजनीतिमा वैकल्पिक धार अगाडि बढाउने भूमिकाबाट उदाएका व्यक्तित्व हुन् उनी। यस क्रममा प्रकाशले सडक आन्दोलनमा सहभागी भए।
प्रकाशको राजनीतिक संलग्नताका सम्बन्धमा चर्चा गर्दा उज्ज्वल थापाको नाम आइहाल्छ। बन्दहडतालजस्ता बेथितिबाट नागरिक आजित भएका बेला पृथक ढंगको राजनीतिक चेत लिएर सडकमा आउने अभियन्ता थिए, उज्ज्वल थापा। उनी विभिन्न स्थानमा ‘नयाँ र चेतयुक्त नारा’ घन्काउँदै हिँड्थे। उज्ज्वलको अभियानमा साथ दिएर अघि बढेका प्रकाश बिस्तारै वैकल्पिक राजनीतिमा जोडिए।
प्रकाश पूर्वपत्रकार हुन्। उनीसँग लेखन र पत्रकारिताको अनुभव छ।अग्रज पत्रकार, सामाजिक न्याय वकालतकर्ता, अधिकारकर्मीको विशेष परिचय बनाएका परियार नीति निर्माणमा दख्खल राख्ने र विकास ,समृद्धि र सुशासनलाई सबै भन्दा नजिकवाट अभ्यास गर्ने थलोनै राजनीति भएको भन्दै राजनीतिक मैदानमा होमिए।
पुराना राजनीतिक दलका घोषणापत्रमा देशको भविष्य पनि नदेखेपछि आफूले वैकल्पिक मार्ग रोजेको प्रकाशले बताए। सत्ता र शक्तिका लागि गरिने शासनसँग प्रकाशको ठूलै असन्तुष्टि थियो।
एक दिन प्रकाशको भेट उज्ज्वलसँग भयो। २०७२ सालको कुनै एक दिन प्रकाशले उज्ज्वलको समूहले थापाथली पुलमा कार्यक्रम भइरहेको देखे। उनी त्यतै लागे। त्यहाँ उज्ज्वलका कुरा सुने। प्रकाश उज्ज्वलका विचारमा सहमत देखिए। अनि उज्ज्वलको ‘नेपाल युनाइट्स’ अभियानमा जोडिए। उनीहरूको समूह विस्तारित हुँदै गयो।
देशमा पुराना दलको जगजगी थियो। शान्ति, स्थिरता र विकासका कुरा पछाडि थिए। ‘नेपाल बन्द’ को खबर गुन्जिरहेका बेला उनीहरू ‘नेपाल खुला छ’ भन्दै सडकमा आउँथे। कांग्रेस, एमाले र माओवादीको विकल्प छैन भन्ने भाष्य थियो। उनीहरू ‘पुराना दल निर्विकल्प होइनन्’ भन्दै आवाज उठाउँथे। यसै समयमा विवेकशील अभियानबाट पार्टी बन्यो। यति मात्र होइन, रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकीकरण भयो। मिश्रले राजावादी विचार बोकेपछि सोही पार्टीमा विवाद बढ्यो। मिश्र राप्रपामा समाहित भएका थिए। प्रकाशहरूले फेरि वैकल्पिक धार अघि बढाए।
‘मिश्रजीसँग छुटेपछि केही समस्या भयो। तर हामीले सम्हालिने प्रयास गर्यौँ’, प्रकाश भन्छन्। विवेकशीलकै अभियानमा हिँड्दा उनी पक्राउ परे। ‘अख्तियारले भ्रष्टाचारीको फाइल नखोलेको भन्दै गुलाफको फूल दिन पुग्दा हामी पक्राउ परेका थियौँ’, प्रकाश सम्झन्छन्।
विवेकशील प्रस्थानबिन्दु, रास्वपाले जनमत पायो
विवेकशील अभियान हुँदै पार्टी बन्यो। तर जनमत तान्न सकेन। हुन त विवेकशील मतभन्दा पनि चेत थियो। ‘हामीले चेत दिन खोलेका थियौँ। ठूला दलको जगजगीमा हामी पनि छौँ भन्ने बुझाउन खोजेका थियौँ’, प्रकाश भन्छन्।
२०७९ मा आइपुग्दा रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भयो। रास्वपाले छोटो समयमै लोकप्रिय मत ल्यायो। २०७९ सालको चुनावमा २१ सिट ल्याएर चौथो दल बन्यो। रास्वपाले प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै मत पाएको थियो।
रास्वपा प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट ल्याएपछि देशमा वैकल्पिक राजनीतिक चेत बढेको उनीहरूलाई पनि लाग्यो। देशमा धेरैवटा वैकल्पिक राजनीतिक दल हुन नहुने बुझेकै कारण उनीहरू पनि रास्वपामा समाहित भए। ‘हाम्रो मार्ग एउटै भएकाले दुईवटा शक्ति हुन चाहेनौँ’, प्रकाश भन्छन्। तत्कालीन विवेकशील–साझाका उपाध्यक्ष रहेका परियारकै अगुवाइमा विवेकशील साझा रास्वपामा समाहित भयो। फागुन २१ गते भएको चुनावमा त्यही पार्टीबाट प्रकाश समानुपातिक उम्मेदवार बनेका थिए।
ती ‘काला दिन’
प्रकाशले सांसद पाउनुका पछाडि अनेक कथा छन्। २०३३ सालमा खोटाङमा जन्मिएका प्रकाश केही वर्षमै इटहरी सरे। प्रकाशका बुवा राजनीतिक गतिविधिमा संलग्न थिए। त्यही कारण उनको परिवार खोटाङ छाड्न बाध्य भयो। इटहरी झरेपछि पनि प्रकाशको परिवारले छुवाछुत तथा जातिय विभेदको दुष्चक्रले छोडेन। समाजमा रहेको निकृष्ट जातिय विभेदको अभ्यासले प्रकाशको बालमस्तिष्कमा केही न केही परिवर्तनकारी काम गरेरै छोड्नु पर्छ भन्ने जुनुन तयार गर्यो।
२०४५ सालमा उनीहरूको घरमा आगलागी भयो। त्यही आगलागीमा उनले इटहरीको तरहरामा रहेको घर गुमाए। उनी कक्षा ४ मा पढ्थे। त्यही साल प्रकाशले आमा शिवा र बहिनी गुमाए। आमा प्रसव पीडामा थिइन्। बहिनी जन्मिएको दिन समयमै उपचार नपाएका कारण आमाले संसार छाडिन्।
आमा बितेको १५ दिनमा बहिनी पनि बितिन्। प्रकाशले पढाइमा राम्रै गरे। २०५० सालमा एसएलसी पास गरेका उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए र बीए उत्तीर्ण गरे। पढाइपछि पत्रकारिता र फेरि राजनीतिमा संलग्न भए। अहिले सांसद र रास्वपाका केन्द्रीय सदस्य छन्।
प्रतिपक्षी भूमिका खेल्न तयार
प्रकाशको राजनीति वैकल्पिक धारबाट अघि बढेको हो। अब उनी सत्ता पक्षमा छन्। सानदार मत ल्याएको रास्वपा सत्तामा छ। उनी आफू जुनसुकै पदका लागि नि तयार रहेको बताउँछन्। ‘सांसद बनेपछि अन्य पदको पनि आकांक्षी हुनु भनेको नयाँ होइन। तर सांसदकै भूमिकालाई पनि निर्णायक बनाउने हो’, उनी भन्छन्।
पार्टी सत्तामा गए पनि खबरदारी गर्ने उनको भनाइ छ। ‘म ठीकलाई ठिक, बेठिकलाई बेठिक भन्छु। आवश्यक परे पार्टीभित्र पनि प्रतिपक्षी भूमिका खेल्न सक्छु’, प्रकाश भन्छन्।
‘विवेकशील विलय भएको होइन’
उनीहरूले चुनावअघि एकाएक रास्वपासँग एकता गरे। कतिपयले उनीहरूलाई ‘अवसरवादी’को आरोप लगाउँछन्। उज्ज्वलको देन रहेको विवेकशील रास्वपालाई बुझाएको दोष पनि छ। तर प्रकाश यो मान्न तयार छैनन्।
उनी अब सदनमा संसदीय मूल्यमान्यता स्थापना गर्ने उनको योजना छ। ‘हामी संसदीय मूल्यमान्यता कायम राख्न सक्रिय हुन्छ। त्यसपछि कानुन निर्माणलाई प्राथमिकता दिन्छौँ’, प्रकाश थप्छन्।





