फाइल तस्बिर : एएफपी/रासस
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन्।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बन्दी प्रत्यक्षीकरण रिट प्राप्त भएको जानकारी दिए। उनले रिटमाथि सोमबार सुनुवाइ हुने बताए।
जेनजी आन्दोलनका क्रममा भएको घटना छानबिन गर्न गठित भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेको थियो।
पक्राउ परेसँगै एमाले अध्यक्ष ओलीलाई शिक्षण अस्पताल महारजगञ्जमा राखिएको छ। मुटुको धडकन असमान्य भएको समस्याका साथ अस्पताल भर्ना भएका उनी चिकित्सकको निगरानीमा छन्।
त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति निकालेर ओली चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ।




