एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर : एएफपी/रासस
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहेका उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए। “उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो । बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ”, उनले भने ।
अस्पतालका प्रवक्ता डा सेढाईंले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले अस्पतालमा नै राखेर उपचार गरिने बताए ।
अध्यक्ष ओलीलाई आज प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उनलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




