काठमाडौँ- हामी नेपाल नामक गैरसरकारी संस्थाका प्रमुख एवं नवनिर्वाचित सांसद सुदन गुरुङले भदौ २४ को घटनामा आफू र टिमको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा गुरुङले आफूहरु भदौ २४ गते विहान २३ गतेको प्रदर्शनमा घाइते भएकाहरुको अवस्था बुझ्न सिभिल अस्पताल बानेश्वरमा पुगेको उल्लेख गरेका छन्।
‘४५ मिनेटपछि फर्की हामी नेपाल संस्थाको कार्यालय रानीबारीमा पुगेर हामी नेपालका स्वयंसेवकहरुलाई घाइतेहरुको उपचार भइरहेको अस्पतालमा गई उपचारको कार्यमा सहयोग गर्नु भनी कार्यालयमा बसेर विरामीहरुलाई आवश्यक पर्ने रगत संकलन गरी परिचालन गरेको थिएँ।’ उनले भनेका छन्।
प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेपछि मात्रै आफूहरु संसद भवन पुगेको तर त्यहाँ प्रदर्शनकारीहरुले आगजनी गरिसकेकाले रोक्न नसकिएको उनले दाबी गरेका छन्।
थप आगजनी गर्न नदिन प्रदर्शनकारीहरुलाई सम्झाएर माइतीघरमा पुग्दा सिंहदरबारमा आगो लगाउन लागेको सूचना आफूले पाएको गुरुङले बयानमा भनेका छन्। सिंहदरबार पुग्दा पनि प्रदर्शनकारीले भित्र प्रवेश गरी आगो लगाइसकेको उनको भनाइ छ।




