कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापा सहभागी, नेविसंघको विषयमा पनि छलफल हुने

हिमाल प्रेस १० चैत २०८२ १३:०७ | Tuesday, March 24, 2026
22
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापा सहभागी, नेविसंघको विषयमा पनि छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी मुख्यालय पुगेका छन्। आइतबारको बैठकले उनको राजीनामा अस्वीकृत गरेपछि उनी आज पहिलोपटक औपचारिक रूपमा बैठकमा सहभागी भएका हुन्।

प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए। तर राजीनामा अस्वीकृत भएपछि उनी आजको बैठकमा सहभागी हुँदै आगामी राजनीतिक तथा संगठनात्मक विषयमा आफ्नो धारणा राख्ने तयारीमा छन्। बैठकमा सभापतिको सम्बोधनपछि पार्टीको आगामी महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।

यसैबीच, आजको बैठकमा पार्टीका भातृ संगठनहरूमाथि पनि छलफल हुने भएको छ। विशेषगरी नेपाल विद्यार्थी संघ (नेविसंघ) को पछिल्लो निर्णयपछि त्यसको भविष्यबारे गम्भीर बहस हुने बताइएको छ।

पार्टीका एक पदाधिकारीका अनुसार नेविसंघ नेतृत्वले हालै संगठनलाई कांग्रेसको भातृ संगठनको रूपमा नरहने निर्णय गरेपछि पार्टी नेतृत्वले यसलाई गम्भीर रूपमा लिएको छ। उनले भने,‘नेविसंघको नेतृत्वले गरेको निर्णय विधान विपरीत र संस्थागत प्रक्रियामा नसुहाउने खालको छ। यसमा अनुशासनका कुराहरू आउँछन् नै। आजको बैठकमा प्रस्ताव पेस हुनेछ।’

त्यसैगरी अन्य भातृ संगठनहरूको अवस्था र भूमिकाबारे अध्ययन गर्नका लागि एउटा छुट्टै कार्यदल गठन गर्ने सम्भावना समेत रहेको ती पदाधिकारीले बताएका छन्।

प्रकाशित: १० चैत २०८२ १३:०७ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast