निर्वाचन परिणामलाई निराशा होइन, संगठन पुनर्गठनको रूपमा उपयोग गरौँ : महामन्त्री पौडेल

हिमाल प्रेस १० चैत २०८२ १२:४६ | Tuesday, March 24, 2026
16
SHARES
निर्वाचन परिणामलाई निराशा होइन, संगठन पुनर्गठनको रूपमा उपयोग गरौँ : महामन्त्री पौडेल

काठमाडौँ- नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद र नेतृत्वसम्बन्धी बहस चुलिँदै जाँदा महामन्त्री प्रदीप पौडेलले पार्टी एकता र सामूहिक नेतृत्वमा जोड दिएका छन्। केन्द्रीय समिति बैठकमा प्रस्तुत लिखित धारणामार्फत उनले यस्तो बताएका हुन्।

निर्वाचन परिणामपछि नेतृत्वको नैतिक जिम्मेवारी, राजीनामा र त्यसको स्वीकृतिबारे कांग्रेसभित्र फरकफरक मत सार्वजनिक भइरहेको छ।

पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक ठान्दै उनले यसलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने धारणा राखे। ‘निर्वाचन परिणामलाई निराशाको रूपमा होइन, संगठन पुनर्गठनको अवसरका रूपमा उपयोग गरौँ,’ उनले आग्रह गरे।

कांग्रेसभित्र नयाँ र पुराना धारबीचको बहसलाई पनि उनले सकारात्मक रूपमा व्याख्या गरे। ‘नयाँ शक्तिहरूको उदय खतरा होइन, हामीले नै रोपेको लोकतन्त्रको बिरुवा फक्रिएको रूपमा बुझ्नुपर्छ,’ उनले भने।

पार्टीभित्र देखिएको आलोचना, असन्तुष्टि र नकारात्मक भाष्यलाई सम्बोधन गर्दै पौडेलले अब संगठनलाई रूपान्तरण गर्नुपर्ने बताए। ‘हामीले हाम्रा उपलब्धिलाई जनतासम्म पुर्‍याउने नयाँ शैली विकास गर्नुपर्छ र कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने।

उनले कांग्रेस अझै पनि देशको प्रमुख लोकतान्त्रिक शक्ति रहेको दाबी गर्दै आन्तरिक विवाद समाधान गरेर पुनः पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे। ‘हामी बदलिन तयार छौँ। यो बदलावले नै आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो शक्तिको रूपमा उभ्याउनेछ,’ उनले भने।

प्रकाशित: १० चैत २०८२ १२:४६ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast