ट्रम्प भन्छन् – सकारात्मक वार्ता भयो, इरान भन्छ – कुनै सम्पर्क भएको छैन

हिमाल प्रेस ९ चैत २०८२ २१:२८ | Monday, March 23, 2026
10
SHARES
ट्रम्प भन्छन् – सकारात्मक वार्ता भयो, इरान भन्छ – कुनै सम्पर्क भएको छैन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्वमा जारी द्वन्द्वलाई पूर्णरूपमा अन्त्य गर्ने विषयमा वार्ता भएको बताएका छन्। उनले ‘पूर्ण समाधान’ को मुद्दामा ‘सकारात्मक कुराकानी’ भएको दाबी गरेका हुन्।

इरानको विद्युत केन्द्र र ऊर्जा पूर्वाधारहरूमा हुने कुनै पनि प्रकारका आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्ने समेत उनले बताएका छन्।

तर, इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पको वार्तासम्बन्धी बयानलाई अस्वीकार गरेको छ।

उनले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका थिए,‘मलाई यो बताउन पाउँदा खुसी लागेको छ कि अमेरिका र इरानबीच विगत दुई दिनमा मध्य पूर्वको द्वन्द्वलाई पूर्णरूपमा समाधान गर्ने विषयम निकै राम्रो र सकारात्मक कुराकानी भएको छ।’

इरानले भने अमेरिकासँग कुनै पनि वार्ता नभएको प्रतिक्रिया दिएको छ। इरानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ,‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता भइरहेको भनी दिएको बयानलाई खारेज गर्दछौँ।’

युद्धसँग सम्बन्धित आफूहरूको लक्ष्य पूरा भएको अवस्थामा मात्र अमेरिकासँग वार्ता हुने इरानले जनाएको छ।

इरानको फार्स न्यूज एजेन्सीले इरानी स्रोतलाई उद्धृत गर्दै भनेको छ,‘ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भउको छैन। पश्चिम एसियाका सबै ऊर्जा केन्द्रहरूलाई हामीले निशाना बनाउने तयारी गरेपछि ट्रम्प पछि हटेका छन्।’

इरानको ऊर्जा संरचना ध्वस्त पार्ने ४८ घन्टाको समयसीमाबाट पछि हटेपछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानको ‘एक शीर्ष व्यक्तिसँग अमेरिकाको वार्ता’ भइरहेको बताए।

फ्लोरिडाको पाम बीचमा आफ्नो विमन चढ्नुअघि ट्रम्पले भने,‘इरान सम्भौता होस् भन्ने चाहन्छ, हामी पनि सम्झौता गर्न चाहन्छौँ। आज सायद हामी फोनमा कुरा गर्नेछौँ। यदि सबै ठीक रह्यो भने हामी यसलाई समाधान गर्नेछौँ। अन्यथा हामी लगातार बम प्रहार गरिरहने छौँ।’

धेरैजसो मुद्दामा इरान सहमत रहेको ट्रम्पले दाबी गरे।

राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको एक शीर्ष व्यक्तिसँग कुरा गरिरहेको तर सर्वोच्च नेतासँग नभएको बताए। इरानका सर्वोच्च नेता मोजतबा खामेनेईका बारेमा टिप्पणी गर्दै उनले भने,‘थाहा छैन उनी जीवित छन् कि छैनन्।’

प्रकाशित: ९ चैत २०८२ २१:२८ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast