कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक सकिएको एक दिन नबित्दै कांग्रेसले फेरि अर्को बैठक बोलाएको हो।
चुनावको प्रारम्भिक समीक्षा र सभापति गगन थापाको राजीनामाबारे छलफल गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारमात्रै सकिएको छ। अब कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिए।
उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको जानकारी दिए।
यसअघि दुई दिन चलेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्दै चुनावमा बेहोर्नुपरेको कारणबारे छलफल गरेको थियो।
नियमित महाधिवेशनको कार्यतालिका, उम्मेदवारहरूको प्रतिवेदन, अनुशासनको कारबाहीलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एक केन्द्रीय सदस्यले बताए। उनका अनुसार केन्द्रीय समिति बैठक थप केही दिनसम्म चल्नेछ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूह सक्रिय भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। आइतबार बसेको देउवा–शेखर समूहको कार्यसम्पदान समितिको बैठकले चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको थियो।
१४ औँ महाधिवेशनपछिको कार्यसम्पादन समितिमा रहेका दुवै समूहका नेताहरूको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। नेता मीनबहादुर विश्वकर्माले चुनावको समीक्षा, आगामी कार्यनीतिलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय भएको बताएका छन्।




