कांग्रेसमा बढ्यो देउवा-शेखर समूहको सक्रियता

कार्यसम्पादन समिति आइतबार, एक साताभित्र केन्द्रीय समिति

धैर्यकान्त दत्त ८ चैत २०८२ २१:३३ | Sunday, March 22, 2026
56
SHARES
कांग्रेसमा बढ्यो देउवा-शेखर समूहको सक्रियता

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ। आइतबार धुम्बाराहीमा बसेको दुवै पक्षका नेताहरूको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो।

नेता मीन विश्वकर्माले आइतबार बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको जानकारी दिए।

‘चुनाव सकेर सरकार गठन प्रक्रिया सुरु भइसकेको छ, अर्को पक्षले संवाद गर्न समेत आवश्यक ठानेको छैन,’ हिमालप्रेससँग विश्वकर्माले भने, ‘कम्तीमा चुनावको समीक्षा गर्नुपर्छ भनेर बैठक बोलाउने कुरा भएको छ। आज कार्यसम्पादन समितिको बैठक बस्यौँ अब केन्द्रीय समिति बैठक बस्छ।’

बढीमा एक साताभित्र केन्द्रीय समिति बैठक बोलाइने उनको भनाइ छ। विश्वकर्माले बैठकमा चुनावको समीक्षाका साथै आगामी कार्यनीतिबारे छलफल हुने जानकारी दिए।

देउवा-शेखर समूहले छुट्टै बैठक बोलाउने तयारी गरेपछि कांग्रेसकै कतिपय नेताहरूले समानान्तर गतिविधि गरेको भन्दै टिप्पणी गरेका छन्। विश्वकर्माले भने आफूहरूले बोलाउने बैठकलाई समानान्तर गतिविधि भन्न नमिल्ने बताए। कांग्रेस दुईवटा भइसकेका कारण आफूहरूले गर्ने गतिविधिलाई समानान्तर भन्न नमिल्ने उनको तर्क छ।

‘कांग्रेस विभाजित छ भनेर त प्रस्टै छ, यो कुरा निर्वाचन आयोगलाई पनि थाहा र सर्वोच्च अदालतलाई पनि,’ उनले भने,‘सानेपा कांग्रेसलाई हामीले स्वीकारेका छैनौँ। अदालतको निर्णय कुरेर बसेका छौँ, त्यसैले हामीले गर्ने बैठक र छलफललाई समानान्तर भन्न मिल्दैन।’

धुम्बfराही बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइराला, मिनेन्द्र रिजाल, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू सहभागी थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू विशेष महाधिवेशनको अडान लिएपछि कांग्रेसमा फाटो उत्पन्न भएको थियो। देउवा र कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि यो विषय निर्वाचन आयोग पुगेको थियो।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन नेतृत्वलाई आधिकारिकता दिइसकेको छ। निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै देउवा समूहले सर्वोच्चमा रिट हालेका छन्। रिटमाथि सुनुवाइका लागि चैत २२ गतेको पेसी तोकिएको छ।

गगनको नेतृत्वमा चुनावमा भाग लिन देउवा-शेखर समूह सहमत भए पनि अहिले छुट्टै बैठक बोलाउने तयारी थालेको छ। चुनावमा हार बेहोरेपछि नैतिकताका आधारमा भन्दै गगनले सभापति पदबाट राजीनमा दिएका छन्। चुनावको समीक्षा र गगनको राजीनामाका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक चलिरहेको बेला देउवा–शेखर समूहले छुट्टै बैठक बोलाउने निर्णय गरेको हो।

२१ फागुनमा सम्पन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएका कारण पनि कांग्रेसभित्र विवाद चर्किएको छ। पुराना भनेर एउटा पक्षलाई ‘खुइल्याउने’ अभियान नै चलाउन थालेपछि चुनावमा यो नतिजा बेहोर्नुपरेको आरोप देउवा समूहको छ।

‘पुरानाहरू कामै नलाग्ने भइसके भनेर उहाँहरूले दुई वर्षअघि देखि नै अभियान चलाउनुभयो, चुनावका बेला पनि शेरबहादुरजीले अनुहार नै देखाउनु हुँदैन भनेर भन्नुभयो,’ विश्वकर्मा भन्छन्,‘एउटा पक्षलाई खुइल्याउने अभियान नै सञ्चालन भएपछि चुनावको यो परिणाम आउनु स्वाभाविकै थियो।’

जेनजी प्रदर्शनका क्रममा आक्रमणमा परेर घाइते भएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेर देउवा उपचारका लागि सिंगापुर गएका थिए। नेतृत्व हस्तान्तरण गरिसक्दा पनि निर्वाचनको मुखमै आएर पार्टीलाई दुई खेमामा विभाजित गरेकै कारण कांग्रेसले पराजय भोग्नुपरेको तर्क देउवा समूहका नेताहरूको छ।

देउवा समूहका नेताहरू चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरेका थिए। पहिले महाधिवेशन गरे त्यसको प्रभाव चुनावमा पर्ने भनाइ उनीहरूको थियो। तर, गगन, विश्वप्रकाशलगायतका नेताहरू भने ‘पुराना अनुहार’ लाई लिएर चुनावमा जाँदा हार बेहोर्नुपर्ने भन्दै विशेष महाधिवेशनमार्फत नेतृत्व फेर्ने अडान लिए।

२०८३ वैशाखमा १५ औँ महाधिवशेन गर्ने लगभग तय भइसक्दा पनि विशेष महाधिवेशन गरेर चुनावमा गएपछि हार बेहोर्नुपरेको नेता विश्वकर्मा बताउँछन्।

‘शेरबहादुरजीले नेतृत्व हस्तान्तरण गरिसक्नुभएको थियो, चुनावअघि महाधिवेशन गर्दा त्यसको प्रभाव चुनावमा पर्छ भन्ने पक्का नै थियो,’ उनी भन्छन्,‘चुनाव सकेर वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पनि आयो। तर, उहाँहरूले मान्नुभएन, अटेरी गरेर विशेष महाविधेशनमा होमिनुभयो। निर्वाचनको मुखमा महाधिवेशन गर्दा नतिजामा प्रभाव पर्ने निष्कर्ष पहिले नै निकालेका थियौँ।’

उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएर सभापति गगन परिवारसहित घुम्न पोखरातिर छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकले आइतबार उनको राजीनामा अस्वीकृत गरेको छ। प्रवक्ता देवराज चालीसेका अनुसार बैठकले थापाको राजीनामा सर्वसम्मतरूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले अस्वीकृत गर्ने आठ आधार पनि दिएको छ।

‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले, राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले, विशेष महाअधिवेशन पश्चात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले र केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले’ भन्ने आधार दिइएको छ।

अर्कोतर्फ चुनावअघि उपचारका लागि सिंगापुर गएका निवर्तमान सभापति देउवा हङकङ पुगेका छन्। थप स्वास्थ्य उपचारका लागि उनी हङकङ प्रस्थान गरेको देउवाको सचिवालयले जनाएको छ। हङकङमा थप स्वास्थ्य उपचारपछि देउवा नेपाल फर्कने बताइएको छ।

निवर्तमान सभापति देउवा नेपाल फर्कने तयारीमा रहेको बेला उनको र डा.कोइराला समूहले पार्टीभित्र सक्रियता बढाएको छ।

प्रकाशित: ८ चैत २०८२ २१:३३ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast