बैतडी- जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेको बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ।
ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रकाशित: ७ चैत २०८२ ९:२९ | Saturday, March 21, 2026
प्रतिक्रिया




