काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन्।
इस्लाम धर्मावलम्बीहरूको पर्व ‘ईद उल फित्र’ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने छ, ‘यस पर्वले हाम्रो राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वको सुगन्ध फैलाउँदै सबै नेपालीलाई साझा यात्रामा अघि बढ्न प्रेरित गरोस् भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना छ ।’
ईद–उल–फित्रले हाम्रो राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धतालाई अझ सबल बनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय र समान अवसरलाई सुनिश्चित गर्न, राष्ट्रिय अखण्डता र पहिचानलाई बलियो बनाउन, विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन यस पर्वले हामी सबैलाई सहयोग पुग्ने विश्वास उनले शुभकामना सन्देशमा व्यक्त गरेका छन् । रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ ।




