फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले चुनावमा हार भएकै कारण पार्टी सभापतिले राजीनामा दिन जरूरी नभएको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चुनावमा ठूला नेताहरू हारेको इतिहास रहेको बताउँदै उनले सभापतिले राजीनामा दिन आवश्यक नभएको बताएका हुन्।
‘ठूला नेताहरूले चुनाव हारे, चर्चिलले चुनाव हारे, इन्दिरा गाँधीले चुनाव हारे, कृष्णप्रसाद भट्टराई चुनाव हार्नुभयो, सुशील कोइराला पनि चुनाव हार्नुभयो, कसले राजीनामा दिए?’ उनले भने।
छोटो समयमात्रै पार्टी नेतृत्व गरेर चुनाव भएका कारण पनि सभापति गगन थापाले राजीनामा दिन जरूरी नभएको उनको भनाइ छ। उनले भने,‘हो चार पाँच वर्ष नेतृत्व गरेको भए प्रश्न उठाउन पाइन्थ्यो।’
नेता केसीले विशेष अधिवेशन गरेर चुनावमा गएका कारण कांग्रेस दोस्रो स्थान ल्याउन सफल भएको दाबी गरे।
‘विशेष अधिवेशले नयाँ नीति दियो, नयाँ विचार दियो, जेनजीको माग सम्बोधन गर्यो। विशेष अविधेशनविनै चुनावमा गएको भए झनै खराब अवस्था हुने थियो,’ केसीले भने।
केसीले सकेसम्म चाँडै नयाँ अधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउने प्रयासमा सबै लाग्नुपर्ने उल्लेख गरे।
सभापति गगन थापाको ससुरा भएकै कारण आफूलाई समानुपातिक सांसद बनाइएको टिप्पणीहरूप्रति उनले आपत्ति जनाए।
‘अर्जुननरसिंह केसीको आफ्नो इतिहास छैन र? संघर्ष छैन र?’, केसीले भने, ‘खाली गगन थापाको ससुरामात्रै भनेर लेखेको छ, गगनले राजीनामा गर्नु पर्दैन भनेर भएको भए ससुराले ज्वाइँको संरक्षण गर्यो भन्थे, त्यही भएर नबोलेको।’





