भारतीय आयातमा कडाइले नेपाली ह्याचरी उद्योगलाई राहत

हिमाल प्रेस ६ चैत २०८२ १३:३६ | Friday, March 20, 2026
8
SHARES
भारतीय आयातमा कडाइले नेपाली ह्याचरी उद्योगलाई राहत

चितवन- ह्याचरी उद्योगले दुई वर्षपछि लागत मूल्य पाएको छ। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन्। ब्रोइलरको लागत मूल्य रु ६५ र लेयर्सको रु १२० पर्न आउँछ।

यसले दुई वर्षभन्दा बढी समय लागत मूल्यभन्दा कममा चल्ला बेच्नुपर्दा समस्यामा परेका ह्याचरी उद्योगलाई राहत पुगेको उनले जानकारी दिए। पुसयता क्रमशः मूल्य बढ्दै गएको हो। त्यसअघि रु २५ सम्ममा बोइलर चल्ला बेच्नुपर्ने बाध्यता रहेको थियो।

मूल्य घटेपछि उद्योगले दुई सातासम्म चल्ला उत्पादन नै रोकेका थिए। यहाँ दुई सय ५० भन्दा बढी ब्रोइलर चल्ला र चार वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द भएका अध्यक्ष लामिछानेले बताए।

‘मूल्य नपाएका कारण धेरै उद्योग बन्द भएका छन्। हाल १०० वटा ब्रोइलरका र १० वटा लेयर्सका ह्याचरी सञ्चालनमा छन्। एक हप्तामा ती उद्योगबाट लेयर्सका एक लाख र ब्रोइलरका ३० लाख हाराहारी चल्ला उत्पादन हुने गरेका छन्। बढी चल्ला उत्पादन हुँदा सातामा ब्रोइलरका ४२ लाखभन्दा बढी र लेयर्सका तीन लाख ५० हजार चल्ला उत्पादन हुने गरेका थिए’, उनले भने।

हाल उत्पादनमा कमी भएको र भारतीय नाकाबाट चल्ला आउन रोकिएपछि यहाँको उत्पादनले बजार पाएको लामिछाने बताए। उनका अनुसार भारतमा चल्लाको मूल्य बढी छ भने सीमानाकामा कडाइ गरिएको छ।

यसअघि कुखुरापालन गर्ने धेरै साना किसान विस्थापित भइसकेका छन्। लेयर्स कुखुरा ठूलो सङ्ख्यामा पालिँदै आएकामा पछिल्लो समय एकै किसानले सात लाखसम्म ब्रोइलर कुखुरा पाल्न थालेपछि बजारको माग धान्न सहज भएको अध्यक्ष लामिछानेको भनाइ छ।

‘सरकारले सीमा क्षेत्रबाट अवैध पोल्ट्रीजन्य पदार्थ रोकेमा यहाँका किसानले राहत पाउँछन्। यसमा हामीले लामो समयदेखि दबाब दिँदै आएका छौँ’, उनले भने।

प्रकाशित: ६ चैत २०८२ १३:३६ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast